प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएका १५ दलित अधिकारकर्मी पक्राउ



न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री कार्यालय बालुवाटारबाट रुकुम सोतीको जातीय नरसंहार घटनाको विरोधमा प्रदर्शन गर्ने १५ जना दलित अधिकारकर्मी पक्राउ परेका छन । उनीहरुलाई पक्राउ गरेर महेन्द्र पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ ।

बुधबार संयुक्त राजनीतिक दलित संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर घटनाका दोषीलाई कारबाही गर्न ध्यानाकर्षणपत्र बुझाउने कार्यक्रम राखेको थियो । तर प्रधानमन्त्री ओलीले समय नदिएपछि उनीहरुले बालुवाटारको ३ नम्बर गेटमा प्रदर्शन गरेका थिए ।

पछि फेरि प्रधानमन्त्रीले समय दिएको भनेर प्रधानमन्त्रीका स्वकीय सचिवले ज्ञापनपत्र बुझ्न खोज्दा अधिकारकर्मीले प्रदर्शन चर्काएका थिए । प्रदर्शन चर्काएपछि प्रहरीले पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा राखेको प्रहरीले पक्राउ गरेको अधिकारकर्मी शोभा सेन्चुरीले जानकारी दिइन् ।

आजै स्थायी कमिटी बैठक भएकाले गेटबाट नेताहरुलाई आवतजावत गर्न समस्या भएपछि प्रदर्शनकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते विवाहका लागि प्रेमिका शुष्मा मल्ललाई भगाउन गएका जाजरकोटका नवराज विकसहित ६ जनाको कुटी कुटी हत्या भएको थियो ।

हत्याको विरोधमा दलित अधिकारकर्मी तथा नेताहरुले काठमाडौँमा प्रदर्शन गरिरहेका छन । प्रहरीले घटनामा सलंग्न सोतीका वडाध्यक्ष डम्बर मल्लसहित ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्