सकारात्मक सोच बढाउन मनोसामाजिक तालिम



अमृत अर्याल,स्याङजा ।

स्याङ्जाको गल्याङमा सकारात्मक सोच बढाउन मनोसामाजिक तालिम सुरु भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा गल्याङमा सात दिने आधारभूत मनोसामाजिक एवम् प्राथमिक मनोबैज्ञानिक सहयोग तालिम सुरु भएको हो । सुरक्षित आप्रवासन परियोजना सामीको प्राविधिक सहयोगमा सुरु भएको तालिम सामाजिक दुरी कायम गरी सञ्चालन भैरहेको छ ।

तालिमको उद्घाटनमा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले सकारात्मक सोच बनाउन यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले धेरै व्यक्तिहरुमा नकारात्मक सोच र चिन्तन बढ्ने गरेको र यसले मनोविज्ञानलाई समेत नकारात्मक असर पर्ने भएकाले यस्तो खालका तालिमहरुको खाँचो बढेको बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘सबै कुरालाई नकारात्मक हेर्ने दृष्टिकोणले अन्ततः आफैलाई हानी पु¥याउछ र त्यसले मानसिक समस्या समेत ल्याउन सक्छ ।’

उहाँले आगामी आर्थिक वर्षको नगरपालिकाको बजेटमा सकारात्मक सोचका लागि र मनोसामाजिक तालिमका लागि बजेट विनियोजन गरी तालिमलाई निरन्तरता दिने बताउनुभयो । नगरप्रमुख अधिकारीले यो तालिमलाई प्रशिक्षक प्रशिक्षण तालिम (टिओटी) को रुपमा आफुले लिएको भन्दै तालिम पछि अन्य ठाउँहरुमा गएर प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले तालिमबाट सिकेका कुरालाई व्यवहारमा उतार्न र अन्य व्यक्ति सामु पनि पु¥याउन आग्रह गर्नुभयो । तालिममा गल्याङ नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रतिनिधि, शिक्षक प्रतिनिधि, साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधि गरि २३ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्