झापाका सबै स्थानीय तहमा कोरोना संक्रमण



न्युज अफ नेपाल,भद्रपुर ।

झापाका सबै स्थानीय तहमा कोरोना भाइरस फैलिएको छ । जिल्लामा मङ्गलबार ८ महिला र ५ पुरुषमा कोरोना पुष्टि भएसँगै यो अवस्था आएको हो । बिर्तामोड नगरपालिकामा २, बुद्धशान्ति गाउँपालिकामा ६, मेचीनगर नगरपालिकामा ३ र हल्दिबारी गाउँपालिकामा २ जना गरी १३ जनामा सङ्क्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या २०५ पुगेको छ । बिर्तामोड नगरपालिकामा पहिलो पटक कोरोना सङ्क्रमित भेटिएको हो । बिर्तामोड नगरपालिका ५ बस्ने ३६ वर्षीय र वडा नम्बर ७ बस्ने ४६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । त्यसमध्ये एक जना होम क्वारेन्टाइनमा र एक जना नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

उनीहरू केही दिनअघि भारतबाट स्वदेश फर्किएका हुन । त्यस्तै बुद्धशान्तिमा पुष्टि भएका कोरोना सङ्क्रमितमध्ये तीन महिला र तीन पुरुष रहेका छन् । बुद्धशान्ति वडा नम्बर ७ का ४ जना र वडा नम्बर ३ का २ जना रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमितहरूको उमेर समूह २५ देखि ५० वर्षसम्मका छन् ।

तीन महिला कुवेतबाट जेठ ३१ र असार ५ गते फर्किएका हुन । अन्य तीन पुरुष भारतको मुम्बई र गुजरातबाट जेठ २६ र असार ४ गते फर्किएको उहाँले बताउँनुभयो । त्यसैगरी मेचीनगरमा पुष्टि भएका कोरोना सङ्क्रमितमध्ये दुई महिला कुवेतबाट र एक जना भारतको आसामबाट आएका हुन् । कुवेतबाट आएकी मेचीनगर ५ की ४० वर्षीया, मेचीनगर– १ की ३६ वर्षीया र आसामबाट आएकी मेचीनगर–७ की ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । उनीहरू मेचीनगर १० स्थित अतिथि सदन भवनको क्वारेन्टाइनमा बसेका थिए ।

हल्दिबारी गाउँपालिकामा थप दुई महिलामा कोरोना पुष्टि भएको छ । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार कुवेतबाट फर्किएका दुई महिलामा कोरोना संक्रमण देखिएको हो । स्वदेश फर्किएका उनीहरू असार ५ गतेदेखि हल्दिबारी गाउँपालिका २ स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । उपचारका लागि सङ्क्रमित पुरुषलाई मोरङको गोठ गाउँ र महिलाहरूलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्