पाल्पा कोरोना अपडेट : ५८ नयाँ संक्रमित थपिए, दुई जना डिस्चार्ज



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लामा मंगलबार थप ५८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ भने दुइ युवाले कोरोनालाइ जितेका छन । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र केन्द्रीय प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा पूर्वखोला गाउँपालिकाकिा ३३ जना पुरुष र ४ जना महिला गरी ३७ जना, बगनासकाली गाउँपालिकामा ११ पुरुष र माथागढी गाउँपालिकामा १० जना पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका का कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टाईका अनुसार पूर्वखोला गाउँपालिकामा देखिएका ३७ जना नागरिक जेठको दोस्रो हप्ता भारतबाट आएर वडा नम्वर ६ र १ का विभिन्न क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै बगनासकाली गाउँपालिकामा देखिएका ११ जना नागरिक जेठ ११ गते भारतबाट आएर वडा नम्वर १ र ३ मा निर्माण गरिएका विभिन्न क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरुलाई तानसेन मिसन स्थित भूषल डाँडा माविमा निर्माण गरिएको आइसोलेसन सेन्टरमा लगिएको छ । त्यस्तै माथागढी गाउँपालिकामा पनि १० जना पुरुषमा संक्रमण देखिएको छ ।

उनीहरु भारत र तेस्रो मुलुकबाट आई वडा नम्वर १, २, ३ र ४ मा निर्माण गरिएका क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरुलाई तानसेनको आइसोलेसनमा ल्याउने तयारी भए पनि बाटोमा पहिरो गएका कारण समस्या सिर्जना भएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो । मंगलबार देखिएका ५८ जना संक्रमितसँगै जिल्लामा संक्रमितको संख्या २ सय ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जल्लाको रामपुर नगरपालिकामा कोरोना पोजेटिभ देखिएका दुई युवा कोरोना जितेर घर फर्किएका छन् । रामपुर ९ का २३ र २८ वर्षका युवकहरु फलोअप पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएसंगै घर फर्किएका हुन् । गत जेठ १२ गते भारतबाट फर्किएर सीताराम माध्यमिक विद्यालय रामपुर ४ को क्वारेन्टाइनमा रहेका उनीहरुमा २१ गते कोरोना पुष्टि भएको थियो ।

त्यस पछि गत जेठ २६ गते रामपुर नगरपालिका र निस्दी गाउँपालिकाले शहिद बहुमुखी क्याम्पस रामपुरमा निर्माण गरेको आईसोलेसनमा उनीहरुलाई सारिएको थियो ।उनीहरुसंगै सीताराम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका कन्ट्रयाक ट्रेसिङ्गमा परेका ११ जना पनि सोमबार रिपोर्ट नेगेटिभ आएसंगै मंगलबार घर फर्किएका छन् ।

आईसोलेसनमा रहेका युवाहरुलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले पुष्पगुच्छा र रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले रिपोर्ट नेगेटि आएको प्रमाण पत्र हस्तान्तरण गरेर विदाई गरेका थिए ।

उनीहरु विदाई भएसंगै पाल्पामा निको भएर घर फर्किनेको संख्या ७ पुगेको छ । यस अघि निस्दी गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका २ जना, पूर्वखोला गाउँपालिकाका १ जना र गुल्मीको रुरु गाउँपालिकाका १ जना निको घर फर्किएको पाल्पाका कोभिड फोकल पर्सन श्रीकृष्ण भट्टराई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्