खोटाङका गरिब आठ परिवारका लागि घर निर्माण



रामधन राई,खोटाङ ।

खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ गरीब परिवारलाई प्रदेश सरकारले घर निर्माण गरिदिएको छ । प्रदेश सरकारद्वारा सञ्चालित जनता आवास परियोजना अन्तरगत नगरपालिकाका १४ गरिव परिवार छनौट गरिएको थियो ।

छनौट गरिएकोमध्ये घर निर्माण सम्पन्न गरेका परिवारलाई एकमुस्ट तीन लाख पाँच हजार रुपैंयाँका दरले रकम प्रदान गरिएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गा फिल्ड युनिट खोटाङले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले रकमको चेक हस्तान्तरण गर्नुभयो ।

गरीबीका कारण ओत लाग्ने घर निर्माण गर्न नसकेर छाप्रोमा बस्दै आएका नगरबासी प्रदेश सरकारले उपलब्ध गराएको रकमबाट नयाँ घर निर्माण गर्न पाएपछि हर्षित भएका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा उक्त कार्यक्रम अन्तरगत यस वर्ष एक सय वटा घर निमार्ण गरिएको फिल्ड युनिट खोटाङका कार्यालय प्रमुख प्रमोद मण्डलले बताउनुभयो । कार्यालय प्रमुख मण्डलका अनुसार जिल्लामा सबै घर निर्माण सम्पन्न भइसकेकाले केहि दिनभित्रै रकम प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्