कोरोना पोजिटिव घटाउन जाँच कम गर्न ट्रम्पको निर्देशन



टुलसा, (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक संक्रमित देखिएकाले आफ्नो प्रशासनलाई कोविड–१९ को जाँच कम गर्न भनेको बताए । ट्रम्पले चुनाव प्रचार र्‍यालीमा आफ्ना समर्थकलाई अमेरिकाले २ करोड ५० लाखको जाँच गरेको जुन कुनै पनि अन्य देशको तुलनामा अत्यन्तै धेरै भएको बताए ।

ट्रम्पले भने– ‘तर यसको नराम्रो पक्ष भनेको व्यापकस्तरमा जाँच गरिनुले भाइरस संक्रमणको मामिला धेरै देखिएको छ । जब त्यो हदसम्मको जाँच गरिन्छ, धेरैभन्दा धेरै बिरामी फेला पर्ने सम्भावना बढ्छ । त्यसैले मैले हाम्रा स्वास्थ्यकर्मीलाई कृपया जाँच कम गर्न भनेको छु ।’

ट्रम्पले १ सय १० दिनमा आफ्नो पहिलो ¥याली गर्ने फैसला गरेका थिए तर स्थानीय स्वास्थ्य अधिकारीहरूले यसबाट कोविड–१९ को संक्रमण झन् बढ्न सक्ने आशंका व्यक्त गरेका थिए । ¥यालीमा उपस्थित धेरैले मास्क लगाएका थिए । हपकिंग्स विश्वविद्यालयको आँकडाअनुसार यस महामारीबाट अमेरिकामा अहिलेसम्म १ लाख २० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

फ्लोरिडा, जर्जिया, टेक्सस र एरिजोनामा जुनको शुरुआतबाट कोविड–१९ ले मर्नेको संख्यामा वृद्धि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्