बजार क्षेत्र १५ गतेसम्मका लागि सिल



बैतडी, (नेस) ।

कोरोना संक्रमित बढ्दै जान थालेपछि बैतडीको पाटन नगरपालिकाभित्रका बजार क्षेत्रलाई सोमबारदेखि सिल गरिएको छ । वडा नं ६ को कार्यालयमा बसेको सर्वपक्षीय बैठकले नगरक्षेत्र भित्रका बजार क्षेत्रलाई सिल गर्ने निर्णयअनुसार बजार क्षेत्र सिल गरिएको हो ।

कोरोनाका बिरामी बढ्दै गएपछि संक्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिनुभयो । लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरणका लागि बजार क्षेत्र सिल गरिएको हो । ‘नागरिकको जीवनरक्षाका लागि यो कदम उठाइएको हो ।’ –उहाँले भन्नुभयो ।

पाटन नगरपालिकाको पाटन, मानिकाखान, खोड्पेलगायतका बजार क्षेत्र असार १५ गतेसम्मसील गरिएको छ । बजार सिल गर्ने निर्णय कसैले उल्लंघन गरेमा जरिवना गरिनेसमेत जनाइएको छ ।

पाटन नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ भने एक जना निको भएर घर फर्केका छन् । बाँकी ७ जना आइसोलेसनमा रहेका पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो ।

यस्तै पाटन नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरूलाई हप्तामा ३ दिन मात्र सेवा दिन नगरपालिकाले आग्रह गरेको छ । आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्रै बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्