गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ



पाल्पा, (नेस) ।

पूर्वी पाल्पाको रामपुर नगरपालिकामा गोरु काटेर खाएको आरोपमा ३ जना पक्राउ परेका छन् । रामपुर नगरपालिकाको १० वरभञ्ज्याङ्गका वीरबहादुर सुनारको गोठमा बाँधेको गोरु काटेर खाएको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत शुक्रबार राति साढे ११ बजे गोठमा बाँधेको गोरु नजिकैको सालघारीको जंगलमा लगेर काटेको आरोपमा रामपुर १० वरभञ्ज्याङ्गका २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताउनुभयो ।

गोरु काटेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले घटनास्थल पुगेर पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । स्थानीयका अनुसार वीरबहादुरले हुँगीबाट एक हल गोरु ल्याएका थिए ।

जसमध्ये एउटा बेचेको र अर्को गोरु गोठ मै राखेका थिए । घटना बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्