झापामा थप तीन जनामा कोरोना संक्रमण



न्युज अफ नेपाल,भद्रपुर ।

झापामा सोमबार तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । भद्रपुरमा दुई जना महिला र दमकमा एक जना पुरुष सङ्क्रमित थपिएका हुन् । भद्रपुर १ स्थित हिमाली माविको क्वारेन्टाइनमा बसेका दुई महिलामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भद्रपुर वडा नम्बर ६ बस्ने ३० बर्षीया महिला र भद्रपुर वडा नम्बर ७ बस्ने २७ वर्षीया महिलामा कोरोना पुष्टि भएको मेयर श्रेष्ठले बताउँनुभयो । ३० बर्षीया महिला असार ५ गते कुवेतबाट भद्रपुर फर्किएकी थिइन भने २७ बर्षीया महिला भारतको दिल्लीबाट असार ३ गते फर्किएकी थिइन् । भद्रपुर घर फर्किएपछि उनीहरूलाई क्वारेन्टाइनमा लगेर राखिएको थियो ।

क्वारेन्टाइनमा बसेकामध्ये १८ जनाको स्वाब सङ्कलन गरी पठाएकोमा दुई जनामा कोरोना पुष्टि भएको मेयर श्रेष्ठले जानकारी दिनुभयो ।अहिले क्वारेन्टाइनमा ३६ जना बसेका छन् । दुई जनामा कोरोना पुष्टि भएपछि ११ जना महिलाको पुनः स्वाब सङ्कलन गरी पीसीआरका लागि पठाइने उहाँले बताउँनुभयो ।

सङ्क्रमित दुवै महिलालाई उपचारका लागि धरान पठाइसकेको जनाइएको छ । त्यस्तै दमकमा कोरोना पुष्टि भएको पुरुष होम क्वारेन्टाइनमा बसेका थिए । दमक वडा नम्बर ४ बस्ने ३२ वर्षिय ती पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९२ पुगेको छ । त्यसमध्ये १३२ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्