झापाको कनकाइ नगरपालिका पाँचदिनका लागि सिल



न्युज अफ नेपाल,भद्रपुर ।

क्वारेन्टाइनमा बसेकी महिलासँग एक बालकसहित उनका आफन्त केही घण्टा उनीसँगै बसेर खेलौना लिएर घर गएको जानकारी प्राप्त भएपछि समुदायमा कोरोना फैलिन सक्ने आशङ्का नगरपालिकाले सिल गरेको छ । कोभिड–१९सङ्क्रमण समुदायमा फैलिएको आशङ्कामा झापाको कनकाई नगरपालिका पाँच दिनका लागि सिल गरिएको सो कार्यालयले जनाएको छ ।

नगरपालिकामा बसेको आकस्मिक बैठकले एक सूचना जारी गर्दै सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार राती १२ बजेसम्मलाई स्वास्थ्य क्षेत्र बाहेक सबै क्षेत्रलाई बन्द गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिका ७ दुर्गापुर स्थित दलित भवनको क्वारेन्टाइनमा बसेकी ३१ वर्षीया महिलालाई आइतबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिला कुवेतबाट गत असार ३२ गते झापा फर्किएर क्वारेन्टाइनमा बसेकी थिइन् ।

क्वारेन्टाइनको सुरक्षामा खटिएका प्रहरीको खुट्टा मर्किएपछि उनी केही समय अन्यत्र गएको बेलामा कोरोना सङ्क्रमित युवतीका आफन्त बालकले भेट गरेका थिए । क्वारेन्टाइन बसेकी महिलाको घर नजिकै रहेको थियो । त्यही भएर नगरपालिकाले वडा नम्बर १ देखि ७ सम्मका सबै वडा सिल गर्न निर्णय गरेको जनाइएको छ ।

महिलाको सम्पर्कमा आएको कन्टेक्ट टेसिङ्ग गर्नु पर्ने भएकोले नगरपालिकाभित्र उच्च सतर्कता अपनाउनुका साथै नगर नै सिल गर्न निर्णय गरिएको नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । सोमबार दिउँसोबाट नगरपालिका भित्र सञ्चालनमा औषधि पसलबाहेक सम्पूर्ण पसल, बैङ्क तथा वित्तीय संस्था लगायत सबै क्षेत्र बन्द गरिएको उहाँले बताउँनुभयो । कनकाईमा ती महिलासहित चार जनामा कोरोना पुष्टि भइसकेको छ । अन्य तीन जना भारतको कानपुरबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्