पाल्पामा एउटै गाउँपालिकाका ८० सहित ८२ जनामा कोरोना संक्रमण पुष्टि

आइसोलेसनको अभाव



कविराज नेपाल,पाल्पा ।

पाल्पामा सोमबार एकै पटक ८२ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ८० जना एउटै गाउपालिकाका हुन भने दुइ जना अर्काे गाउपालिकाका रहेका छन । पूर्वखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ८० जना र माथागढी गाउँपालिकाका थप २ जनामा सङक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा १ सय ३९ जनाको पिसिआआर रिपोर्ट आउँदा ८० जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । यससँगै जिल्लामा संक्रमितको संख्या १७३ पुगेको छ । संक्रमण भएकाहरु ३ देखी ५८ वर्ष उमेर समुहका छन् ।

उनीहरु सबै भारतबाट आएर गणपती, जनउज्वल र अकला विद्यालयको क्वारेन्टाईनमा बसेका व्यक्ति हुन् । एकैपटक यति धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएपछि उनीहरुलाइ राख्ने आइसोलेसन कक्षको अभाव देखिएको छ । पूर्वखोला गाउँपालिका–१ सिलुवास्थित अकला आधारभूत विद्यालयको क्वोरन्टाइनमा क्वारेन्टाइन निर्माण गरेर उनीहरूलाई राख्ने तयारी भइरहेको पूर्वखोला गाउपालिकाका अध्यक्ष नुनवहादुर थापाले जानकारी दिनुभयो ।

तर कस्तो खालको क्वारेन्टाइन निर्माण गर्ने भन्नेबारे विशेष बैठक बसेर निर्णय गरिने उहाले बताउनु भयो । अध्यक्ष थापाका अनुसार लक्षण देखिएपछि भने थप उपचारका लागि तत्काल अस्पतालमा पठाइने छ । त्यस्तो अवस्थाका लागि नजिकै गाडीसमेत स्ट्यान्डबाइ राखिएको उहाले बताउनु भयो ।

संंंंक्रमित व्यक्तिहरु लकडाउन सुरु भएपछि भारतका विभिन्न ठाउँबाट फर्किएका तथा उनीहरू स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए । उनीहरू अहिलेसम्म क्वारेन्टाइनमा सुरक्षित बस्दै आएको अध्यक्ष थापाले बताउनु भयो ।यस्तै सोमवार माथागढी गाउँपालिका–२ रहबासमका २ पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

उनीहरूलाई सदरमुकाम तानसेनस्थित नर्सिङ क्याम्पसमा बनाइएको आइसोलेसनमा ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सन्तोष थापाले जानकारी दिनुभयो ।हालसम्म जिल्लामा ५ संक्रमित भने निको भएर घर फर्किएका छन भने एक जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आइसोलेसनमा वसेका सवैको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्