ताप्लेजुङका किसानले जैतुन खेती परिक्षण गर्दै



दिलकुमार लिम्बू ताप्लेजुङ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका किसानले जिल्लामै पहिलो पटक जैतुन खेती परिक्षण सुरु गरेका छन् । महङ्गो मूल्य पर्ने र धेरै उपयोगी तेलको रुपमा चिनिँन्दै आएको जैतुन खेती फुङ्लिङ नगरपालिका–२ तारिबुङ र वडा नं. ३ मेदिबुङका किसानले सुरु गरेका हुन् ।

जैतुनको तेल महङ्गो मूल्यमा बिक्री हुने हुँदा यसको खेतीमा संलग्न किसानले राम्रो आम्दानी लिँदै आएको थाहा पाएपछि आफूहरुले जैतुन खेती सुरु गरेको किसानको भनाइ छ । अहिले फुङ्लिङ नगरपालिका–२ तारिबुङका सुबास घिसिङ, वडा नं. ३ का देवराज पालुङ्वा, दयाराम घिमिरेसहित चारजना किसानले खेती सुरु गरेका हुन् ।

बाग्लुङ जिल्लाबाट नेपाली जैतुनको बिरुवा ल्याएर एक वर्ष अघिदेखि खेती सुरु गरेको तारिबुङ्का किसान घिसिङले जानकारी दिनुभयो । घिसिङले बिरुवा प्रतिगोटा ८०० रुपियाँले खरिद गरी आफूले १०० वटा बिरुवा ल्याएर रोपेको बताउनुभयो ।

प्रतिगोटा ८०० रुपियाँले खरिद गरे पनि जिल्ला ल्याई पु¥याउँदा ढुवानी खर्चसमेत प्रतिगोटा एकहजार १०० रुपियाँ पर्न गएको उहाँले बताउनुभयो । घिसिङसँगै अन्य तीनजना किसानले पनि एक सयकै सङ्ख्यामा बिरुवा ल्याएर खेती सुरु गर्नुभएको छ ।

यता परीक्षण खेतीका रुपमा आपूmहरुले जैतुनको बिरुवा ल्याएर रोपेको खेतीमा संलग्न किसानले बताएका छन् । खेती सफल भएमा अझ बिस्तार गर्दै जाने र अन्य किसानलाई पनि जैतुन खेती गर्नतर्फ प्रोत्साहित गरिने उहाँहरुको भनाइ छ । एकहजार ५०० देखि दुई हजार बढीको उचाइ सम्ममा खेती गर्न सकिने भएकाले आपूmहरुले लगाएको जैतुन खेती फस्टाउनेमा विश्वस्त रहेकोसमेत उहाँहरुको भनाइ छ ।

जैतुनको बिरुवा रोपेको तीन वर्षदेखि फल लाग्न थाल्दछ । चिसो हावापानीमा राम्ररी उत्पादन हुने (फल्ने) जैतुन खेतीका लागि पाखो र भिरालो जमिन भए पुग्ने किसान बताउँछन् । किसानका अनुसार समतल नभई पाखो वा भिरालो जनिमलाई ब्यवस्थित गरेर बिरुवा रोपेमा जैतुनको राम्ररी नै फल लाग्ने गर्दछ । जैतुनको फल टिपेर प्रशोधन गरी उत्पादन गरिने तेलको बजार मूल्य प्रतिलिटर तीन हजार ५०० रुपियाँसम्म रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्