जोखिममा मकवानपुर : एकसाथ ८ जनामा कोरोना संक्रमण पुष्टि



  • न्युज अफ नेपाल,हेटौंडा

पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको क्वारेन्टिनमा रहेका एक महिलासहित ८ जनामा कोरोना पुष्टि भएको छ । एकसाथ यति ठूलो संख्यामा कोरोना पुष्टि भएको मकवानपुरमा यो पहिलो हो । उनीहरुको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले नियमित पत्रकार भेटघाटमा बताउनुभएको छ ।
मकवानपुरका थप दुई महिलामा पनि पुष्टि भए पनि उनीहरु कुन स्थानका हुन् भन्ने खुलेको छैन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा मकवानपुरका दुई महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।भारतबाट आएका ६ जनाको स्वाब कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी दिइएको छ ।

कोरोना संक्रमण पुष्टि भएकामा मनहरी–१ का २६ र ३७ वर्षीय पुरुष, मनहरी–४ का २८ वर्षीय पुरुष, ३० वर्षीया महिला र ४० वर्षीय पुरुष तथा मनहरी–७ का २६ वर्षका पुरुष रहेको बताइएको छ । कोरोना पोजेटिभ देखिएकालाई हेटौंडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालयको आइसोलेसनमा ल्याइएको छ ।

विदेशबाट फर्कनेलाई क्वारेन्टिनमा राख्ने गरिएको र प्राप्त रिपोर्टमा ६ जनामा कोरोना संक्रमण देखापरेको हो ।मनहरी गाउँपालिकामा २ वटा क्वारेन्टिनमा सञ्चालनमा छ । मनहरी वडा–३ को लामीटार र वडा–७ को बिजौना रमनटारमा क्वारेन्टिन सञ्चालनमा छ ।

बिजौनामा रहेकाको पीसीआर परीक्षण गर्दा सबै जनाको नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको थियो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र जिल्ला स्वास्थ्य कार्यालयको टोली उनीहरुको उचित स्याहार र उपचार व्यबस्थामा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्