अष्ट्रेलियामा डरलाग्दो रुपले बढ्यो साइबर आक्रमण



मेलबर्न (एजेन्सी) ।

चीनसँग तनावपुर्ण सम्बन्ध रहेको बेला अष्ट्रेलियाको सरकारी तथा निजी क्षेत्रमा डरलाग्दो साइबर आक्रमण भएको बताइएको छ । यसको पछाडी कुनै न कुनै देशको हात रहेको र त्यसमा चीनको हात हुन सक्ने प्रति संकेत गरिएको छ । यद्यपी प्रधानमन्त्री स्कट मोरिसनले कुनै देशको नाम किटान गर्न अस्विकार गरेको छ । उक्त आक्रमणको अहिले सम्मको जाँचमा कुनै ठुलो डाटा चोरी भएको नदेखिएको उनले प्रष्ट पारेका छन् ।

यो हमला सरकार, उद्योग, राजनितिक संगठन, शिक्षा, स्वास्थ्य तथा आवश्यक सेवा सहित हरेक क्षत्रमा गरिएको प्रधानमन्त्री मोरिसनले क्यानबेरामा सन्चार माध्यमलाई जानकारी दिए । यो कुनै नौलो कुरा नभएको तर विगत केही महिनामा यसमा तिब्रता आइरहेको उनले बताए ।

मोरिसनले भने -,’हामीलाई थाहा छ यो कुनै देशका तर्फबाट भएको हमला हो, यसमा प्रयोग भएको तरिकाले त्यसलाई प्रमाणित गर्छ । अष्ट्र्रेलियाली सरकार यस प्रति सचेत छ र सतर्क रहन पनि भनिएको छ । ‘

यस विषयमा खुला रुपमा बोलेर चिन्ता ब्यक्त गरिरहेको नभएर जागरुकताका लागि आफुले भनिरहेको मोरिसनले बताए । संस्था विशेष गरि स्वास्थ्य सम्बन्धी आधारभुत आवश्यकता तथा जरुरी सेवासँग सम्बन्धित भएकाहरुलाई हौसला बढाइरहेको उनले बताए । उनीहरुलाई आफनो प्रविधिको सुरक्षाका लागि उपाय गर्न भनिएको उनले बताए ।

लामो समय देखि अष्ट्रेलिया र चीनबीचको सम्बन्ध राम्रो छैन । त्यसैले यो साइबर आक्रमणको पछाडी चीनको हात रहेको आशंका गरिएको छ । चीन अष्ट्रेलियालाई अमेरिकाको पिछलग्गु भएको आरोप लगाउँदै आइरहेको छ । अष्ट्रेलियाले कोरोना भाइरस संक्रमण फैलिएकोमा चीनको प्रयोगशालामाथि आशंका गर्दै तिनीहरुको जाँच हुनु पर्ने विषयमा अमेरिकालाई समर्थन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्