दिक्तेलबजारको अस्तव्यस्त सडक धमाधम ढलान हुँदै



रामधन राई, खोटाङ ।

वर्षायाममा हिलाम्य र हिउँदमा धुलाम्य हुने खोटाङको मुख्य व्यापारिक केन्द्र दिक्तेलबजारको सडक धमाधम ढलान भईरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागको ५ करोड रुपैंयाँ लागतमा दिक्तेलवजारको किरातचौकदेखि संगमटोलसम्म सडक ढलानको कामले तिब्रता पाएको हो ।

उक्त बजेटले छ सय ७५ दशमलव १६ घनमिटर सडक ढलान गर्ने जिम्मा दीब्यजोति/आइडी रुजन जेबी निर्माण कम्पनीले लिएको छ । गत बैशाख १२ गते असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सम्झौता गरिएकोमा समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनी सम्बद्ध ध्रुब श्रेष्ठले वताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजालका अनुसार दिक्तेल बजारको सडक निर्माणको डिपिआर निर्माण गरी काम सुरु गरिएको हो । यसअन्तरगत यो पहिलो चरणको काम हो । त्यसपछि लगत्तै साउनबाट अर्को चरणको काम सुरु हुने नगरप्रमुख रिजालले सुनाउनुभयो । रिजालका अनुसार अर्को चरणको सडक निर्माणमा नौ करोड ७० लाख रुपैंयाँ खर्च हुने छ । दिक्तेल बजारको सडक निर्माण गर्न बनाइएको डिपिआरमा करिब १८ करोड रूपैयाँ खर्च हुने देखिएको छ ।

यस्तै, दिक्तेलकै त्रिवेणीचौकदेखि भवनगैरा–लोकसेवा आयोगसम्मको सडकको काम पनि धमाधम भइरहेको छ । करिब एक करोड तीन लाख रूपैयाँको लागतमा त्रिवेणीचौकदेखि लोकसेवासम्म तीन सय ६० घनमिटर सडक ढलान गर्ने गरी खोटाङ हलेसी–गोल्डेन फ्युचर जेवी निर्माण कम्पनीले काम सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्