तिहार सुरक्षामा प्रहरीको विशेष सतर्कता : पटका, जुवातासदेखि कालोबजारीसम्म निगरानी


काठमाडौं ।

नजिकिँदै गरेका तिहार, नेपाल संवत् तथा छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन नेपाल प्रहरीले देशभर विशेष सुरक्षा योजना लागू गरेको छ। चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, जुवातास, सट्टेबाजी, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले सुरक्षा निगरानी र परिचालनलाई तीव्र बनाएको हो।

नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ कार्यान्वयन गर्दै सार्वजनिक स्थल, बजार क्षेत्र, सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात र बढी भीडभाड हुने स्थानमा प्रहरी परिचालन गरेको जनाएको छ। चाडपर्वका बेला नागरिकको आवागमन सहज बनाउने, सम्भावित दुर्घटना रोक्ने र शान्तिसुरक्षा कायम राख्ने उद्देश्यले सुरक्षा व्यवस्था थप चुस्त बनाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार पटका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार, भण्डारण र बिक्रीवितरण नियन्त्रण गर्न विशेष चेकिङ टोली परिचालन गरिएको छ। जुवातास, सट्टेबाजी तथा अन्य अवाञ्छित गतिविधि हुन सक्ने सम्भावित क्षेत्रमा सादा पोशाकका प्रहरीसमेत खटाइएको छ। प्रहरीले देउसीभैलो कार्यक्रम स्थानीय प्रशासनले तोकेको समयभित्र मर्यादित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ। त्यस्तै, पटका र आतिशबाजी प्रयोग नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न तथा सार्वजनिक शान्तिमा असर पर्ने गतिविधि नगर्न नागरिकलाई सचेत गराएको छ।

पटका र आतिशबाजीमा प्रतिबन्धित गतिविधिमाथि निगरानी तिहारका बेला पटका तथा विस्फोटक पदार्थ प्रयोग गर्दा आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग र सम्पत्तिमा क्षति पुग्न सक्ने भन्दै प्रहरीले त्यसको प्रयोग नगर्न विशेष अनुरोध गरेको छ। बालबालिकालाई पटका तथा प्रज्वलनशील पदार्थबाट टाढा राख्न र अभिभावकले विशेष निगरानी गर्न पनि आग्रह गरिएको छ। विद्युत् सर्ट भएर आगलागी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै घर तथा पसलमा आवश्यक सावधानी अपनाउन र दमकल तथा विपद् व्यवस्थापन टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।

सार्वजनिक स्थानमा पटका पड्काउने, राति अबेरसम्म चर्को आवाजमा डिजे बजाउने तथा आतिशबाजी गर्ने गतिविधिले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई असर पार्न सक्ने भएकाले त्यसतर्फ पनि निगरानी बढाइएको छ। कुनै स्थानमा आगलागी, विस्फोट वा दुर्घटना भए तत्काल प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायलाई खबर गर्न प्रहरीले आग्रह गरेको छ। अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको जानकारी प्रहरीको हटलाइन १०० मा दिन सकिनेछ।

कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेमाथि निगरानी चाडपर्वमा खाद्यान्न, लत्ताकपडा, इन्धन तथा दैनिक उपभोग्य वस्तुको माग बढ्ने भएकाले कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र उपभोक्ता ठगी गर्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले बजार अनुगमनमा सहकार्य गरिरहेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ। म्याद गुज्रिएका, नक्कली तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने, बढी मूल्य असुल्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी राखिनेछ।

विशेषगरी फूलमाला तथा पूजासामग्रीको बिक्रीवितरणमा उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले मूल्यसूचीको पालना र पारदर्शी कारोबारमा जोड दिइएको छ। यातायातदेखि अनलाइन ठगीसम्म प्रहरीको निगरानी चाडपर्वका समयमा हुन सक्ने चोरी, डकैती, लुटपाट, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार तथा अवैध हुण्डी कारोबार नियन्त्रण गर्न पनि प्रहरीले विशेष टोली परिचालन गर्ने जनाएको छ। काठमाडौं उपत्यकाबाट बाहिरिने सार्वजनिक सवारीसाधनमा यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै चालकको अनुमतिपत्र, मादक तथा लागूपदार्थ सेवन, सवारीको सिट क्षमताअनुसार यात्रु राखे नराखेको र सवारीको यान्त्रिक अवस्था जाँच गरिनेछ।

लामो दूरीका सवारीसाधनमा दुई जना चालक भए नभएको समेत ट्राफिक कम्युनिकेसन एप्लिकेसन (टीसीए) प्रयोग गरी परीक्षण गरिने प्रहरीले जनाएको छ। त्यस्तै, चाडपर्वका बेला निकालिने र्‍याली, जुलुस तथा शोभायात्राका क्रममा समुदायबीच विवाद र झडप हुन नदिन सम्बन्धित पक्षसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको छ। नेपाल प्रहरीले नागरिकको सुरक्षा, सहज आवागमन र शान्तिपूर्ण वातावरण कायम राख्न सूचना, प्रविधि, प्रहरी परिचालन र नागरिक सहकार्यलाई मुख्य आधार बनाएको जनाएको छ।

प्रहरीले चाडपर्वलाई सभ्य र सुरक्षित बनाउन नागरिक, अभिभावक, व्यवसायी तथा सरोकारवाला सबैलाई सहयोग गर्न आग्रह गर्दै भनेको छ, ‘ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईंहरूको साथमा छ।’