क्वारेन्टिनमै किरिया शुरु !



बैतडी ।  

दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टिनमा नै बस्नुभएको छ ।

भारतको दिल्लीमा काम गर्दै आएका उहाँ चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहनुभएको छ । उहाँका बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उहाँले क्वारेन्टिनमै किरिया शुरु गर्नुभएको हो । केही दिनअघि कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरी उहाँ दोगडाकेदार पुग्नुभएको थियो ।

क्वारेन्टिनमा किरिया बस्न बाध्य भएको उहाँले गुनासो गर्नुभयो । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरेको भए पनि घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले जानकारी दिनुभयो ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उहाँलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयोे । लीलाधरको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उहाँले बताउनुभयो । यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुबाको किरिया क्वारेन्टिनमा बस्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्