लमजुङ कारागारबाट फरार कैदी पक्राउ



शिक्षा पन्त,लमजुङ ।

लमजुङको बेसीशहर नगरपालिका–८ स्थित जिल्ला कारागारबाट बुधबार फरार भएका कैदी लोकबहादुर भन्ने वर्ष २७ का दिनेश परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बेसीशहर नगरपालिका–२ स्थित मस्र्याङ्दी नदी किनारमा लुकेर बसेको अवस्थामा परियारलाई फेला पारेको र पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले बताउनुभयो ।

पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान भइरहेको उहाँको भनाई छ । राइनास नगरपालिका–१० कोके गाउँ घर भएका परियारले वि.सं. २०६९ पौष महिना २२ गतेदेखि कर्तव्य ज्यान मुद्धामा कारागार सजाय भोग्दै आएका छन् । लमजुङ जिल्ला अदालतले परियारलाई २० वर्षको सजय तोकेको थियो ।

कैदी परियार २०७६ साल जेठ १९ गतेबाट चौकीदारका रुपमा रहदैँ आएका थिए । लमजुङको एक मात्र जिल्ला कारागारमा २५ जनाको क्षमता रहेपनि हाल ७३ जना कैदीवन्दीहरु रहेका छन् । जसमध्ये ६६ जना पुरुष र ७ जना महिला रहेका छन् ।

त्यस्तै ३३ जना कैदी पुरुष र ६ जना कैदी महिला रहेका छन् भने, ३३ जना थुनुवा पुरुष र १ थुनुवा महिला रहेका छन् । कैदी परियार अनुसासित रहेका थिए,राष्ट्रपतीले ५१ प्रतिशत कैद सजाय तोकेकाहरुलाई विभिन्न आधारमा कैद मिनाह हुँदै आएको र आगामी २ वर्षमा उनलाई पनि कैद मिनाह हुने सम्भावना रहेपनि कारागारबाटै फरार भएको कारागारका जेलर विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्