विदेश मन्त्री स्तरिय वार्ता, दोषीलाई कारवाही गर्न चीनको माग

भारत–चीन सीमा विवाद



लद्दाख (एजेन्सी)
गलवान घाटीमा भएको हिंस्रक झडपका लागि भारत र चीन एक अर्कालाई जिम्मेवार रहेको दोषारोपन गरिरहेका छन् । उक्त घटनालाई लिएर चीनका विदेशमन्त्री वांग यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री जय शंकरले सीमामा भएका सम्पुर्ण घटनामा चीन जिम्मेवार भएको र यो कदम चिनियाँ पक्षले सुनियोजित तरिकाले उठाएको आरोप लगाएका छन् ।
यसबीच सीमामा तनाव कम गर्न दुबै देशबीच मेजर जनरल स्तरको वार्तामा पनि भएको छ । तर यस वार्तामा कुनै नतिजा ननिस्केको समाचार एजेन्सीहरुले जनाएका छन् । गलवानमा तनावपुर्ण स्थिति कायमै रहेको बताइएको छ ।
दुबैपक्ष शिघ्र सीमामा तनाव अन्त्य गर्न इच्छुक रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । समस्याको हल न्याय संगत तरिकाबाट निकाल्नु पर्ने दुबैपक्षको चाहना हो । चीनका विदेशमन्त्रीले भारतसँग विवादका लागि जिम्मेवार ब्यक्तीलाई सजायँ दिन र फ्रन्टलाइनमा तैनाथ जवानहरुलाई नियन्त्रणमा राख्न अपिल गरेका छन् ।
यस घटनाले द्विपक्षिय सम्बन्धमा गहिरो असर पर्ने भारतिय विदेशमन्त्री जयशंकरले बताए । चीनले आफनो यस कदमलाई लिएर पुन मल्यांकन गरेर मात्र कदम चाल्नु पर्ने उनले बताए ।
भारतको विदेश मन्त्रालयले दुबै देशका मन्त्रीबीच वार्तापछि भारत र चीन जुन ६ मा सिनियर कमान्डर स्तरको बैठकमा बनेको सहमतिका आधारमा स्थिति नियन्त्रणमा ल्याउन तयार रहेको जनाएको छ । यसतोमा बीचबीचमा उक्साउने खालका बयान दिइरहनु यो सहमतिको उलंघन हो ।
यसबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भने – जवानहरुको बलिदान ब्यर्थ जाने छैन । देशको सम्प्रभुता सर्वोच्च हो । देशको सुरक्षा गर्न हामीलाई कसैले रोक्न सक्दैन । हाम्रा दिवंगत शहिद वीर जवानको विषयमा देशलाई यस कुरामा गर्व हुनेछ कि उनीहरु भिडन्त गर्दागर्दै मरे ।
यसबीच भारतको प्रधानमन्त्री आवासमा मोदी र रक्षा मन्त्री राजनाथ सिंहबीचको बैठक राती करिब ९ बजे समाप्त भयो । गलवान घाटीको झडपमा गम्भिर घाइते भएकार ४ भारतिय सैनिकको स्थिति स्थिर रहेको बताइएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्त झाओ लिजियानले गलवान घाटीको सम्प्रभुता सँधै चीनके हिस्सामा रहेको बताए । भारतिय सेनाले सीमा प्रोटोकल तोडेको हो । उनीहरुले न त सीमा मात्रै उलंघन गरेको हो, कमान्डर स्तरको वार्ताको पनि ख्याल गरेनन् ।
चीनसँग जारी तनावबीच भारतले हिमाचल प्रदेशको लाहौल स्पिती र किन्नौर जिलामा अलर्ट घोषणा गरेको छ । भारतका यी जिलाको सीमा चीनसँग जोडिएका छन् ।
गलवान घाटीमा सोमबार राती भारत र चीनका सैनिकहरुबीच भएको हिंस्रक झडमा भारतका २० सैनिक मारिएका थिए भने चीन तर्फ कति हताहत भए भन्ने पुष्टी हुन सकेका छैन । भारतले चीन तर्फ कम्तिमा ४० सैनिक मारिएको दावी गरिरहेको छ । मारिएकामा चिनिया युनिटका कमान्डिंग अफिसर पनि रहेको बताइएको छ । गलवान घाटीमा यसअघि सन् १९६२ को युद्धमा ३३ भारतियको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्