हुप्सेकोटमा थप पन्ध्र जना कोरोना संक्रमित



  • घनश्याम बगाले,नवलपरासी

पूर्वी नवलपरासीको हुप्सेकोटमा क्वारेन्टाईन बसेका थप १५ जनामा एकै दिन कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेको विज्ञप्ती अनुसार जिल्ला हुप्सेकोट गाउंपालिकामा १५ जना र मध्यविन्दु नगरपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हुप्सेकोट गाउंपालिकामा देखिएका संक्रमित १८ देखि ३६ वर्ष उमेरका १५ पुरुष रहेको र उनीहरु स्थानीय गुहेरी र गिरुवारीको क्वारेन्टाईनमा बसेका थिए । गुहेरीको जनता आधारभूत विद्यालय क्वारेन्टाईनका संक्रमित १० जना युवा छन् भने , ५ जना सरस्वती प्रावि क्वारेन्टाईन गिरुवारीमा बसेका युवाहरु रहेकाछन् ।

हुप्सेकोट गाउं पालिकामा यस अघि ८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । पूर्वी नवलपरासीमा हाल सम्म ६६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमण देखिएका गुहेरी क्वारेन्टाईनका ९ जना भारतको हिमाञ्चल र अन्य ६ जना महाराष्ट्रको मुम्बईबाट आएको गाउपालिकाले जनाएको छ ।

हुप्सेकोटमा रहेको एक क्वारेन्टाईनमा एक महिला गर्भवती रहेको र उनको नमूना स्वाव परीक्षण गर्दा नेगेटिभ देखिएको गांउ पालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो । यसै गरी मध्यविन्दु नगरपालिका १० का १६ वर्षीय पुरुष दिल्लीबाट आएर जनता उच्च मावि अरुणखोला र वडा नं. १२ का ३० वर्षीय पुरुष बम्वईबाट गाउं आएर सरस्वती आधारभूत विद्यालय बेलहानी क्वारेन्टाईनमा बसेका थिए ।

संक्रमित सवैको हाल स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेशनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्