बनेपा नगरपालिकालाई चीनले दियो स्वास्थ्य सामाग्री



  • मोतीराम तिमल्सिना,काभ्रे

कोरोना भाईरसको महामारी फैलिरहँदा नागरिकहरुलाई जोगाउन छिमेकी देश चीनको सिगात्से नगरपालिकाले बनेपा नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । बनेपा नगरपालिका र सिगात्से नगरपालिका बीच भगिनी सम्वन्ध कायम छ ।

नेपाल र चीन सरकारको सिमाना सिन्धुपाल्चोकको तातोपानी नाकामा सिगात्से नगरपालिकाका डेपुटी डिस्टिक हेड साङजुजी जिल्ला, मिस्टर वाङ चेङ जुङ्ग, सिगात्से नगरपालिकाका विदेश विभाग अधिकृत छेरिङ्ग नकन्दाले बनेपा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेति, वडा अध्यक्ष एवं प्रवक्ता श्याम सुन्दर श्रेष्ठ, बरिष्ठ राजश्व अधिकृत धुर्वराज नेपाल, जनसम्पर्क अधिकृत जुजुभाई सुद्धाकार लगायतको टोलीलाई कोरोना विरुद्ध लड्न सक्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

‘विपदमा गरिएको सहयोग र सद्भाव अविश्मरणीय छ’–नगरपालिकाका प्रमुख प्रशासयिक अधिकृत कविराज उप्रेतिले भन्नुभयो–‘चीनको सिगात्से नगरपालिकाले उपलब्ध गराएका सामाग्रीको उचित स्थानमा सदुपयोग गरिनेछ ।’

सिगात्से नगरपालिकाका डेपुटी डिस्टिक हेड साङजुजीले विपद्मा थोरै स्वास्थ्य सामाग्री उपलब्ध गराउन पाएकोमा नगरपालिकालाई धन्यवाद दिनु भएको थियो । भगिनी सम्वन्धका आधारमा एकले अर्काेलाई सहयोग गर्ने परम्परा मात्रै नभई आवश्यकता भएको उहाँले बताउनु भयो ।

लामो समय रोकिएको उक्त सम्वन्धलाई नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भए सँगै नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल लगायतको टोलीले पुनः नविकरण गरेको थियो ।

नगरपालिकालाई ३० हजार थान मेडिकल माक्स, एन ९५ माक्स ३ सय थान, पिपिई सेट ३ सय थान, माईक्रो थर्ममिटर ५० थान, सेनिटाईजर १ सय बोतल, ग्लोबस १ सय पिस, गगल्स ५० पिस उपलब्ध गराएको छ ।

बनेपा नगरपालिकाले १४ वटा वडा मार्फत नागरिकहरुलाई सचेतना गराउँदै आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिरहेको नगर प्रमुख लक्ष्मी नरसिं बादेले जानकारी दिनु भयो । बनेपा नगरपालिकाले ६५ बेडको क्वारेन्टिन निर्माण गरेको छ भने शिर मेमोरियल अस्पताल बनेपामा आईसोलेनस वार्ड निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्