बाग्मती प्रदेशको बजेट आज आउँदै



हेटौंडा, (नेस) ।

मुलुकको केन्द्रमा पर्ने बाग्मती प्रदेश सरकारले आज असार १ गते सोमबार आफ्नो तेस्रो पूर्ण बजेट ल्याउँदै छ । प्रदेश सरकारद्वारा आव २०७७/०७८ को पूर्ण बजेट ल्याइने भएको हो । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्ने प्रावधान छ ।

कोरोनाका कारण अर्थतन्त्रमा पर्ने प्रभावको मूल्यांकन गर्दै प्रदेशले आगामी आवका लागि चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट बनाइएको प्रदेश सरकारको भनाइ छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले प्रदेशले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट बनेको बताउनुभयो । उहाँले आगामी वर्षको बजेटमा राजस्वमा नयाँ स्रोतहरूको खोजी गरिने र राजस्वको दायरा ठूलो बनाइने बताउनुभयो ।

‘दर बढाउने भन्दा पनि क्षेत्र केही बढाउनेतर्फ ध्यान दिइएको छ । बजेटको स्रोत घट्ने अनुमान छ । कोरोनाको महामारीको अवस्था भदौसम्म जाने हो भने हामी तोकेको योजना पूरा गर्न सक्दैनौं । तापनि चालू वर्षकै बजेटको हाराहारीमा आगामी वर्षको बजेट बनाएका छौं । प्रदेशको बजेटको आकार चालू वर्षकै हाराहारीमा हुनेछ ।

प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट बनाएको थियो । चालूतर्फ २४ अर्ब ४६ करोड अर्थात् ५१.३९ प्रतिशत रहँदा पुँजीगततर्फ २२ अर्ब ८३ करोड (४७.९ प्रतिशत) थियो । त्यसअघि प्रदेशले ३५ अर्ब ६० करोड ५६ लाख रुपियाँको पहिलो बजेट बनाएको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा आन्तरिक राजस्व परिचालन ८ अर्ब ३५ करोड १० लाख हुने संशोधित अनुमान थियो । यसका आधारमा लक्ष्यको तुलनामा आन्तरिक राजस्व संकलन ९८ करोड २६ लाख न्यून हुने बताइएको थियो ।
‘प्रदेशमा स्रोत थोरै छ । हाम्रा आवश्यकता, माग, अभ्यास बढेका छन् ।

त्यसमाथि पनि यस वर्ष कोरोना भाइरसले पारेको प्रभावले विश्व अर्थतन्त्रमा असर गरिरहेको र त्यसको असर नेपालमै पनि परेको छ ।’ –उहाँले भन्नुभयो ।

‘हामी कृषि र वनमा आधारित उत्पादनका क्षेत्र, घरेलु कच्चापदार्थमा आधारित उद्योग, बाख्रा व्यवसाय, दूध व्यवसाय, माछापालन जस्ता रोजगारी सिर्जना गर्ने र उत्पादन वृद्धि हुने क्षेत्रमा ध्यान दिएका छौं ।’ –उहाँले भन्नुभयो । विशेष गरी स्वास्थ्य, रोजगारी, शिक्षा र पूर्वाधार निर्माणलाई बढी प्राथमिकता दिएर बजेट बनाइएको उहाँको बताउनुभयो ।

उहाँले कतिपय बहुवर्षीय योजना र क्रमागत योजना निरन्तर हुने भन्दै केही नवीन सोचहरू आगामी वर्षको नीति तथा कार्यक्रममा राखिएको स्पष्ट पार्नुभयो । चालू वर्ष गर्न नसकिएको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई बजेट छुट्याइने छ । प्रदेश विश्वविद्यालयको तयारी भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि पनि बजेट छुट्याइने छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्