स्पेनिस ला लिगा भोलिबाट सुचारु हुँदै



  • न्युज अफ नेपाल, काठमाडौं 

व्यग्र प्रतीक्षाका साथ हेरिएको स्पेनिस ला लिगा करिब ३ महिनापछि भोलि बिहिवार मध्यरातबाट सुचारु हुँदैछ ।कोरोना भाइरसका कारण स्थगित लिग जुन ११ तारिखबाट सुचारु हुन लागेको हो । लकडाउन र कडा स्वास्थ्य प्रोटोकल पालना गरेर सिजनका बाँकी सबै खेल दर्शकबिना बन्द रंगशालामा खेलाइनेछ ।

ला लिगा युरोपमा कोरोनापछि सुचारु हुने दोस्रो लिग बन्नेछ । यसपछि प्रिमियर लिग र इटालियन सिरी ए पनि सुचारु हुने मिति र खेल तालिकासमेत सार्वजनिक भइसकेको छ ।

ला लिगा स्पेनको समयअनुसार जुन ११ बाट सुचारु हुँदा नेपाली समयअनुसार भने जुन १२ बाट सुचारु हुनेछ । सेभिया र रियल बेटिसबीचको डर्बी भिडन्तबाट ला लिगा सुचारु सुरु हुनेछ । ला लिगाले पहिलो चरणमा २८औं साताका खेल पाँच दिनमा सकाउने गरी तालिका प्रकाशित गरेको छ । जसअनुसार पहिलो दिन दुई खेल, दोस्रो दिन चार खेल, तेस्रो दिन ३ खेल, चौथो र पाँचौं दिनमा एक–एक खेल हुनेछन् ।

कोरोनाअघि लिगका २७ खेल सकिएका थिए । अब अन्तिम ११ चरणका खेल बाँकी छन् । र, सबै टिमले २७र२७ खेल खेलिसकेका छन् । हालको अवस्थामा बार्सिलोना ५८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ भने रियल मेड्रिड २ अंकले पछि परेर ५६ अंकसहित दोस्रो स्थानमा छ ।

त्यस्तै, ४७ अंक भएको सेभिया तेस्रो, ४६ अंक भएको रियल सोसिडाड चौथो, ४६ नै अक भएको गेटाफे पाँचौं र ४५ अंक भएको एथ्लेटिको मेड्रिड छैटौं स्थानमा छ । ४२ अंक भएको भ्यालेन्सिया सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्