गण्डकी फुटबल संघले सांसदको राजीनामा माग्ने



  • न्युज अफ नेपाल, काठमाडौं

पोखराको भेडावारीमा ड्रिम प्रोजेक्ट बहुउद्देशीय तालिम केन्द्र निर्माण गर्न लागेको विषयमा एन्फालाई धन्यवाद दिने क्रममा गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघले सांसद प्रदीप यादवको राजीनामा माँग गर्ने निर्णय लिएको छ । मंगलबार आठ जिल्ला फुटबल संघका अध्यक्षहरुले जुमको सहयोगमा बसेको बैठकमा सो निर्णय लिएको हो ।

संघका अध्यक्षहरुले सांसद यादवले खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई एन्फाले १७ करोड दिएको भन्ने निराधार आरोपको विरोध गर्दै राजीनामा माँग्ने निर्णयमा पुगेका बताएका छन् ।

उहाँहरुले त्यसलाई पुष्टि गर्न पनि चुनौती दिनुभयो । साथै सांंसद यादवले निराधार कपोकल्पित कुरा गरेको बैठकमा बताएका छन् । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले ग्रासरुट फुटबलको विषयमा दिएको अभिव्यक्ति लिएर अध्यक्षको राजीनामा संसदमा सांसद यादवले माग गर्नुभएको थियो ।

गत जेठ २३ गते सांसद यादवले खेलकुद मन्त्रीमाथि रकम लिएको आरोप लगाउनुभएको थियो । जेठ २६ गते खेलकुद मन्त्री विश्वकर्माले निराधार आरोप लगाउने सांसद यादवलाई पुष्टि गर्न चुनौती दिनुभएको थियो । सो जुम बैठकमा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रिय उपाध्यक्ष कृष्ण थापा, सहायक महासचिव विश्व पौडेल, केन्द्रिय सदस्यहरु रत्नकुमार श्रेष्ठ तथा एल.वि.ज्वारचनको समेत सहभागीता रहेको थियो ।

सो बैठकले अध्यक्ष शेर्पाले दिएको अभिव्यक्तिलाइ अतिरन्जित र तोडमोड गरि उहाँलाई कामगर्न नदिने षडयन्त्रका साथै फुटबलको विकासलाई कमजोर पार्न एन्फाका केही व्यक्तिहरु लागि परिरहेको र त्यस्ता व्यक्तिहरुलाई समेत अनुशासनको कारवाही दायरामा ल्याउनु पर्ने र त्यस्ता व्यक्तिहरुसंग बेलैमा सम्पूर्ण फुटबल प्रेमीहरु सचेत हुनका साथै त्यस्ता व्यक्तिको विरुद्धमा एकजुट हुन गण्डकी प्रदेशका पूmटबलकर्मीहरुले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्