एमबाप्पे विश्वकै मूल्यवान फुटबलर



लन्डन, एजेन्सी ।

विश्व खेलकुदको चर्चित सर्वेक्षण संस्था ‘ सीआइस फुटबल अब्जर्बटेरी’ ले वर्षको सबैभन्दा मूल्यवान फुटबलरको शीर्ष स्थानमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेलाई सूचीकृत गरेको छ ।

सोमबार सीआइसले सार्वजनिक गरेको विश्वका १ सय जना फुटबलका सबैभन्दा उच्च बजार मूल्य रहेका फुटबलरको सूचीमा एमबाप्पेले पहिलो स्थान ओगटेको हो । २१ वर्षका एमबाप्पेले अन्य ठूला नामका खेलाडीलाई समेत पछि पारेका छन् ।

रिपोर्टर अनुसार एमबाप्पेको बजार मूल्य २ सय ५९.२ मिलियन युरो रहेको छ । उक्त सूचीको दोस्रो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ छन् । उनको मार्केट भ्यालु १ सय ९४.७ मिलियन यूरो तोकिएको छ । त्यस्तै, तेस्रो स्थानमा जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार जाडोन सान्चो छन् ।

सान्चोको मार्केट भ्यालु १ सय ७९.१ मिलियन यूरो छ । त्यसैगरी चौथोमा लिभरपुलका ट्रेन्ट अलेक्जान्डर अर्नोल्ड रहँदा पाँचौंमा म्यानचेस्टर युनाइटेडका मार्कुस रास्फोर्ड छन् । जसमा अर्नोल्डको १ सय ७१.१ मिलियन र रास्फोर्डको १ सय ५२.३ मिलियन यूरो मार्केट भ्यालु रहेको जनाइएको छ ।

उक्त सूचीमा वर्तमान विश्व फुटबलका दुई सुपरस्टार क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी भने उत्कृष्ट २० भित्रपनि पर्न सकेनन् । स्पेनिस क्लब बार्सिलोनाका ३२ वर्षका मेसी २२औं स्थानमा छन् ।

उनको बजार मूल्य ८९ मिलियन पाउन्ड रहेको छ । त्यस्तै, इटालीयन सिरी ए क्लब यूभेन्ट्सका ३५ वर्षीय रोनाल्डो भने ७०औं स्थानमा छन् । रोनाल्डोको बजार मूल्य ५५.७३ मिलियन पाउन्ड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्