निर्माता थापाको गुमनाम निधन



फिल्म निर्माता खेम थापाको निधन भएको छ। थापाको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पतालमा लाने क्रममा बाटोमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ। थापाको गत जेठ १४ गते निधन भएपनि सोमबार मात्र यो खबर बाहिर आएको हो।

अभिनयसमेत गर्दै आएका थापाको हालै निधन भएको हो। उनले यो मायाले लौन सतायो, परेलीजस्ता फिल्म निर्माण गरेका थिए। ‘चलचित्र परेली, यो मायाले लौ न सतायोजस्ता चलचित्रका निर्माता, थुप्रै चलचित्रमा अभिनय गर्नुभएका खेम थापा दाइको जेठ १४ गते चितवन मेडिकल कलेजमा ६६ वर्षको उमेरमा पुरानै मुटु रोगका कारण दुखद निधन भएको हो’, थापाद्वारा निर्मित फिल्म यो मायाले लौन सतायोमा अभिनय गरेका नायक सुधांशु जोशीले फेसबुकमा लेखेका छन्– ‘अत्यन्तै मिलनसार, चलचित्रकर्मी स्व. खेम दाइप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै,, आत्माको चिरशान्तिको कामाना !

अर्का अभिनेता रमेश उप्रेतीले पनि थापाको अचानक भएको निधनले स्तब्ध भएको जनाउँदै थापाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। रमेशले थापाद्वारा निर्मित परेली र यो मायाले लौन सतायोमा अभिनय गरेका थिए। चितवनको गोन्द्रयाङमा बस्दै आएका थापा २०११ सालमा जन्मिएका थिए। उनले कसम,रक्षा, परेलीजस्ता फिल्ममा अभिनय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्