कोरोना खोप विकासमा चीनबाट राम्रो संकेत



बेइजिङ, (एजेन्सी)

कोरोना भाइरससँग युद्ध लडिरहेको विश्वका लागि राम्रो समाचार आएको छ । चीनको कोरोना भाइरस खोप एडी–५ को १ सय ८ स्वयंसेवकमा परीक्षण पूरा भएको छ ।

यो खोपले मानव शरीरभित्र रोग प्रतिरोधक क्षमतालाई सुरक्षित तरिकाबाट बढाएको तर यो यसले कोभिड–१९ भाइरसलाई पूर्णरूपमा समाप्त पार्न नसकेको विशेषज्ञहरूले जानकारी दिएका छन् । तर बिरामीको शरीरमा रोग प्रतिरोधात्मकता उत्पन्न हुनु राम्रो संकेत भएको उनीहरूले बताए ।

परीक्षणले चिनियाँ खोपले संक्रमणबाट बचाउन सक्ने प्रमाणित भएको तर निश्चितरूपमा निष्कर्षमा पुग्नु हतार हुने विशेषज्ञहरूले भनेका छन् । चीनको यो खोप केन्सिनोले तयार पारेको हो । वर्षको शुरुआतमै खोपको परीक्षण शुरू भएको थियो । यो कम्पनीले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अमेरिकाको मोडेर्नाको परीक्षणभन्दा धेरै अगाडि नै आफ्नो परीक्षण शुरू गरेको थियो ।

परीक्षणका क्रममा खोपको धेरै जसो डोजले इम्युन सिस्टम अर्थात् प्रतिरोधात्मक प्रणाली बलियो भएको थाहा भएको छ तर एन्टिबडीको स्तर त्यति हुन सकेन जसले भाइरसलाई पूर्णरूपमा समाप्त पार्न सकोस् ।

खोपका कारण भाइरस संक्रमणबाट बचाउन सकिने कोष टी सेल बलियो भएको वैज्ञानिकहरूले पाएका छन् । यद्यपि खोपको केही साइड इफेक्ट पनि देखिएका छन् ।

बिरामीमा भित्री पीडा, मांसपेसीहरूमा पीडा तथा ज्वरो देखिएको छ । तर २८ दिनभित्र यो लक्षण कम भएको छ । कुनै पनि बिरामीमा गम्भीर तथा प्राणघातक लक्षण देखिएको छैन ।

चीनको एडी–५ कारोना भाइरस खोप विश्वका सबैभन्दा अगाडि बढिरहेका कोराना भाइरस खोपमा परेको डेली मेल अखबारले जनाएको छ । अमेरिकाले चीनमा विकास भएको यो खोपको प्रयोग गर्छ वा गर्दैन अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

विशेषज्ञका अनुसार चीनको खोप परीक्षणका क्रममा सबै ती परीक्ष्ँण समूहमा कोरोना भाइरसबाट लड्नका लागि एन्टिबडी विकसित भएको छ ।

विशेषज्ञहरूले यो खोप उपयोगी हुने यकिन गर्न अझै धेरै शोधको आवश्यक भएको बताए । अहिलेसम्मको सबै परीक्षणमा मानवमा खासै कुनै साइड इफेक्ट नदेखिनु राम्रो कुरा हो । डाक्टरहरूले यसलाई अत्यन्तै राम्रो संकेत मानेका छन् । खोप तयार भए पनि यसको साइड इफेक्टका बारेमा थाहा पाउनु अत्यन्त आवश्यक हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्