चलचित्र पत्रकारिता दिवसको कार्यक्रम स्थगित

गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार



चलचित्र पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले संघ स्थापना भएको दिन हरेक जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस असहज परिस्थितिका कारण स्थगित गरेको छ।

कोरोना संक्रमणका कारण विश्वभर फैलिरहेको कोभिड–१९को जोखिम बढिरहेका र यसका बिरामीहरू थपिइरहेको बेला संघले चलचित्र पत्रकारिता दिवसको कार्यक्रमलाई स्थगित गरेको हो। चलचित्र पत्रकारिता दिवसका अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गर्दै आएका छ।

तर कोरोना भाइरस जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्य नजर गर्दै यस वर्ष सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको संघका महासचिव समीर बलामीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अर्को वर्ष पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एक जनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय संघले गरेको विज्ञप्तिमा जनाइएको छ।

यसपालि चलचित्र पत्रकारिता दिवस अर्थात् ७ जेठमा डिजिटल प्लेटफर्ममार्फत संघको २१औं वार्षिकोत्सव मनाउने र शुभकामना आदान–प्रदान गर्ने निर्णय गरिएको समेत उनले विज्ञप्तिमार्पmत जानकारी गराएका छन्।

यसैबीच मकवानपुर संवाददाताले हेटौंडाबाट जनाएअनुसार चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालको हेटौंडा शाखाले यस वर्षको चलचित्र पत्रकारिता दिवसका अवसरमा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई सम्मान गर्ने भएको छ।

संघको पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका गिरीलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट सम्मान गर्न लागिएको हो।

संघको बैठकले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा आबद्ध पत्रकार राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट फिल्म क्षेत्रमा सक्रिय नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गर्ने निर्णय गरेको हो। गत वर्षको चलचित्र पत्रकारिता पुरस्कार नेपाल समाचारपत्रका मकवानपुर संवाददाता रोशन पराजुलीलाई प्रदान गरिएको थियो।

दाहाललाई नगद पाँच हजारसहित सम्मानपत्र र लामालाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिनेछ। हाल कोरोना भाइरसको महामारीका कारण यस वर्ष प्रदान गरिने पुरस्कार महामारीको स्थिति सामान्य भएपछि प्रदान गरिने संघको हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्