कोरोनालाई जित्न नसके पनि परमाणु हतियारमा पर्याप्त खर्च



जेनभा, (एजेन्सी)

कोरोना भाइरस संक्रमणले चलमलाउनै नसक्ने अवस्थामा यस महामारीबाट मुक्ति पाउन छटपटाइरकोे विश्वका अधिकांश देश आर्थिक संकटको अर्को भयानक विपत्तिमा फस्दै गइरहेका छन्। कोरोनासँगको युद्धको अनिश्चित नतिजाको दबाबमा रहेको विश्व आर्थिक गतिविधि थप्प हुन पुग्दा तहसनहसको स्थिति भने करिब करिब पक्का बन्दै गइरहेको छ।

विश्वमा आफ्नो वर्चस्व राख्ने होडका क्रममा भयानक विनासकारी हतियार विकास गरी त्यसको थुप्रोको आडमा देखाउँदै आइरहेको घमण्डमा पनि कुनै कमी देखिएको छैन। यी देशहरू मानव शत्रु कोरोनासँगको युद्धमा पटक्कै काम नलाग्ने आफ्ना ती हतियारको विकास तथा परिमार्जनमा यथेस्ट पैसा खर्च गरिरहेका छन्।

जेनेभाको परमाणु हतियार नष्ट गर्ने अन्तराष्ट्रिय अभियानमा जुटेको एक संस्थाका अनुसार विश्वका १० परमाणु शक्ति सम्पन्न देशले पछिल्लो एक वर्षमा ७३ अर्ब डलर परमाणु हतियारमा खर्च गरेका छने। यो पैसा विश्वका नागरिकलाई कोरोना भाइरसबाट बचाउने अनुसन्धान, आपँर्ति तथा राहतमा खर्च गर्न सकेको भए कति फाइदा हुन सक्थ्यो अहिलेको घडीमा सोच्नुपर्ने विषय हो।

इन्टरनेसनल क्याम्पेन टु अबोलिस न्युक्लियर विपन (आईसीएएन)का अनुसार फ्रान्स, बेलायत र अमेरिकाले जति पैसा परमाणु हतियारका लागि खर्च गरे त्यसले कम्तीमा १ लाख आईसीयँ बेड, हजारौं भेन्टिलेटर खरिद गर्न सकिने र हजारौं नर्स तथा डाक्टरहरूलाई पारिश्रमिक दिन सकिन्छ।

प्रतिवेदनमा अमेरिका, रुस र बेलायत तीनै देश आफ्नो परमाणु हतियारको संख्या कम गरिरहेका छन्। फ्रान्स र इजरायलको परमाणु हतियारको संख्या स्थिर छ। सबै परमाणु हतियार सम्पन्न राष्ट्र लगातार आफ्ना ती हतियार लगातार आधुनिक बनाउनमा लागिरहेका छन्। यति मात्र होइन देशमा नयाँनयाँ प्रविधिका अत्याधुनिक हतियार पनि थपिरहेका छन्।

अमेरिकी सरकारले सन् २०१८ मार्चमा ऊसँग ३ हजार ८ सय वारहेड रहेको घोषण गरेको थियो। अमेरिकाको हतियार भण्डारमा कुल ५ हजार ८ सय परमाणु बम तयारी अवस्था वा त्यसका लागि आवश्यक सामान रिजर्भमा छ। अमेरिकाले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखमा ३५ अर्ब डलर खर्च गरेको छ। यो विश्वमा त्यसका लागि हुने खर्चको आधा हो।

त्यसै गरी चीनसँग ३ सय २० परमाणु हतियार छ। यो तयारी अवस्थाको हो र रिजर्भमा राखिएको छ। चीनले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखमा १० अर्ब ४० करोड डलर खर्च गरेको छ।

त्यसै गरी बेलायतसँग १ सय ९५ परमाणु हतियार रहेको छ भने यसको रेखदेख र परिमार्जनमा ८ अर्ब ९० करोड डलर खर्च गरेको छ।
सबैभन्दा धेरै परमाणु हतियार भएको रुससँग ६ हजार ३ सय ७२ परमाणु बम छन्। रुसले परमाणु हतियारको आधुनिकीकरण र रेखदेखका लागि ८ अर्ब ५० करोड डलर खर्च गरेको छ। त्यसै गरी फ्रान्सले आफँसँग रहेको २ सय ९० परमाणु हतियारका लागि ४ अर्ब ८० करोड डलर खर्च गरेको छ।

विश्वको विपन्न मुलुकमा पर्ने भारतसँग १ सय ५० परमाणु बम छ। भारतले यसको आधुनिकीकरण तथा थप परमाणु हतियार विकास तथा रेखदेखमा २ अर्ब ३० करोड खर्च गरेको छ।

इजरायलसँग ९० देखि १ सयको संख्यामा परमाणु हतियार रहेको मानिन्छ। इजरायलले अहिलेसम्म परमाणु हतियारको परीक्षण गरेको छैन। तर उसको परमाणु हतियार तयारी अवस्थामा रहेको बताइन्छ। इजरायलले परमाणु हतियारको परिमार्जन तथा रेखदेखमा १ अर्ब डलर खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्