को बन्ला बोर्ड अध्यक्ष?



चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि दशजनाको आवेदन परेको छ। निर्माता तथा अभिनेता केवश भट्टराईको असामयिक निधनपश्चात रित्त बोर्ड अध्यक्षका लागि बोर्डका सदस्य तथा फिल्म लेखक एवं निर्देशक दयाराम दाहाल, अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, निर्माता तथा गायक अर्जुन कुमार, निर्देशक दीपक श्रेष्ठ, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र उप्रेती, कलाकार भीमा मैनाली, सांस्कृतिक संस्थानका पूर्वप्रबन्ध निर्देशक राजेश थापा, ध्यानबहादुर सुब्बा र परशुराम चौधरीले आवेदन दिएका हुन्। यीमध्ये दयाराम दाहाल र भुवन केसीलाई सम्भावित बोर्ड अध्यक्षका रूपमा हेरिएको छ।

स्रोतका अनुसार बालुवाटारले दयाराम र भुवनमध्ये एकलाई बोर्ड अध्यक्ष बनाउनेबारे सोच बनाएको छ। भुवनलाई तत्कालीन नेकपा (एमाले) ले समानुपातिक सांसदको टिकट दिने वचन दिए पनि पछि सो वचन तोडेकाले यसपटक उनलाई बोर्ड अध्यक्ष दिने र यो ग्रिनसिग्नल पाएपछि नै भुवनले आवेदन दिएको स्रोतको भनाइ छ। उता बोर्डका पछिल्लो काम कारबाही दयाराम दाहालले गरिरहेको भन्ने रिपोर्टिङ पनि बालुवाटारमा पुगेको छ। त्यसैले पनि यी दुईमध्ये एकलाई बोर्ड अध्यक्ष बनाइने प्रवल सम्भावना रहेको स्रोतको दाबी छ।

सरकारले दुई हप्ताअघि अध्यक्ष बन्न योग्यता घटाएर जारी गरेको १५ दिनको सूचनाअनूसार आवेदनको म्याद मंगलबार सकिएको छ। आवेदन दिनेहरुको कार्ययोजना अध्ययनपश्चात मन्त्रीपरिषद्बाट बोर्ड अध्यक्षको नियुक्ती हुनेछ।

तीन वर्षअघि शेरधन राई सञ्चारमन्त्री भएको बेला अध्यक्ष बन्नलाई कम्तीमा स्नातक हुनुपर्ने प्रावधान तोकिएको भएपनि सरकारले प्रावधान परिवर्तन गरी २० वर्ष फिल्म क्षेत्रमा बिताएको मान्छेले आईए वा सोसरहको शैक्षिक योग्यता भए अध्यक्ष बन्न पाउने भन्दै सूचना प्रकाशित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्