२ खर्बको राहत प्याकेज आवस्यक



नेपाल समाचारपत्र, काठमाडौं ।

कोरोना भाइरसले अर्थतन्त्रमा पारेको असर न्यूनीकरणका लागि सरकारले २ खर्बको प्याकेज ल्याउन गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले बताउनुभएको छ। उहाँले सरकारले जीडीपीको ५ प्रतिशत बजेट कोरोना केन्द्रित आर्थिक प्याकेजका लागि बिनियोजन गर्नुपर्ने बताउनुभएको हो।

प्रष्ठिानले कोरोनाले अर्थतन्त्रमा पार्न सक्ने असरको अध्ययन गरी सरकारलाई २१ बुँदे सुझाव दिएको छ। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘सरकारले यसका लागि बजेट छुट्याउन पर्याप्त समय छ। पछि ढिला गरे असर बढी फैलिन सक्छ।’

उहाँले फजुल खर्च घटाउन पनि सरकारलाई सुझाव दिनुभएको छ। सरकारले आफ्ना मान्छेलाई भर्ती गर्न बनाइएका अनेक विभाग छन्। त्यस्ता विभागलाई खारेज गरेर फजुल खर्च कटाउनुपर्ने उहाँको धारणा छ। सरकार, राजनीतिक दल, नागरिक लगानी कोषलगायतका प्रतिनिधि सम्मिलित छुट्टै समिति बनाएर कोरोनाले पार्ने असर न्यूनीकरणका लागि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले विश्व अर्थतन्त्र नै डामाडोल भएको अवस्थामा सरकारले नेपालमा कृषि तथा उत्पादनमा लगानी बढाउन ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो।

उहाँले नेपालको अर्थतन्त्र कृषि तथा रेमिट्यान्समा आधारित भएको हुनाले अब सरकारले कृषिमार्फत रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘उत्पादनमा लगानी वृद्धि गर्न, कृषि बजारीकरण गर्न सरकारले भूमिका खेल्नुप¥यो। बजारीकरणका लागि स्थानीय तहलाई अख्तियारी दिनुप¥यो।’

अहिले संकटको घडी रहेको भन्दै उहाँले उद्योगी ऋणीलाई ब्याज छुट दिने, सहुलियत दिनेजस्ता काम सरकारले यथाशीघ्र गर्नुपर्ने जनाउनुभयो। उहाँले भन्नुभयो– ‘अर्थतन्त्र उकास्न उद्योग खोल्ने वातावरण हुनुपर्छ, ब्याज छुट, सहुलियतजस्ता राहत प्याकेज ल्याएर उद्योगलाई गतिशिलता दिनुपर्नेमा सरकारले ध्यान दिनुपर्छ।’

‘अहिले मजदुर तथा पीडितवर्गलाई सरकारले दिंँदै आएको राहत अव्यवस्थित भएको उहाँले टिप्पणी गर्नुभयो। राहत दिने नाममा आफ्ना कार्यकतालाई दिइएको छ, यसरी विभेद गरिनुहुन्न’ उहाँले भन्नुभयो। लकडाउनका कारण दैनिक २ अर्बको हाराहारीमा मुलुकले नोक्सानी व्यहोरेको बताउँदै उहाँले भन्नुभयो– ‘कोरोनाविरुद्धको लडाइँमा सरकारले इमान्दारिताका साथ लाग्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्