अम्पायर परीक्षामा तीन जना उत्तीर्ण



न्युज अफ नेपाल, काठमाडौं

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा नेपालबाट ३ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण हुनेमा मोरङका विकेन थापा र राजेश भट्टराई तथा काठमाडौंका नरेश रावल रहेको अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले बताउनुभयो ।

उहाँले धेरै वर्षपछि नेपाली अम्पायरले अन्तर्राष्ट्रिय अम्पायर परीक्षामा उत्तीर्ण गर्न सफल भएको भन्नुभयो । उहाँले नेपाल समाचारपत्रलाई बताउनुभयो—दुई वर्ष अघि पनि परीक्षा दिएका थिए, तर सबै फेल भएका थिए । यसपटक तीन जनाले पास गरेका छन् । यो करिब १० वर्षपछि नेपाली अम्पायरले यस्तो परीक्षा पास गरेका हुन् ।

आईटीटीएफले नेपालबाट १७ जनालाई अनलाइन परीक्षामा सहभागिताको अवसर दिएकोमा तीन जना मात्र उत्तीर्ण भएका हुन् । ५० पूर्णाङ्कको उक्त परीक्षामा विकेन र राजेशले समान ४०–४० अंक प्राप्त गरे । उत्तीर्ण हुन ३८ अंक चाहिनेमा नरेशले त्यत्ति नै अंक ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्