सिरियाली व्यापारमन्त्री बर्खास्त



दमास्कस।

सिरियाली राष्ट्रपति बसर अल असदले आन्तरिक व्यापार तथा उपभोक्ता संरक्षण मन्त्रीलाई पदबाट सोमबार बर्खास्त गर्नुभएको सिरियाली समाचार संस्था सानाले जनाएको छ ।

राष्ट्रपतिले आन्तरिक व्यापारमन्त्री अतेफ नादाफ मन्त्रीलाई पदबाट बर्खास्त गर्दै उहाँको स्थानमा तलाल बाराजीलाई उक्त पदमा मनोनयन गर्नुभएको छ ।

समाचारमा राष्ट्रपतिले किन मन्त्री नादाफलाई बर्खास्त गर्नुभएको भन्नेबारे खुलाइएको छैन तर विश्लेषकहरूले उक्त निर्णय सिरियामा देखिएको खराब आर्थिक अवस्थाको पृष्टभूमिमा गरेको बताइएको छ ।

सिरियामा पछिल्लो समय खाद्यान्न लगायतका अति आवश्यकीय सामानहरूमा समेत अत्यधिक मूल्यवृद्धि भएको र नादाफले यसलाई नियन्त्रणमा राख्न नसकेको बताइने गरिएको थियो । बाराजीले सन् २०१३ देखि सिरियाली विद्रोही समूहको प्रभाव क्षेत्र मानिने होम्स राज्यको गभर्नरका रूपमा काम गर्दै आउनुभएको थियो । सिरियामा उहाँका कैयौँ व्यवसायिक आयोजनाहरू सञ्चालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्