कोपिला डिसहोममा



हेटौंडा, (नेस)।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको फिल्म कोपिला डिसहोममार्फत् प्रदर्शनमा आउने भएको छ।

फिल्म डिसहोम च्यानल नम्बर १ सय ८ मा हेर्न सकिने यसको निर्माण समूहले जानकारी गराएको छ। यो फिल्म आज मंगलबारबाट दैनिक ८ सो प्रदर्शन हुनेछ। जसका कारण लकडाउनका समयमा दर्शकले घरमै बसेर आप्mनो समयअनुसार सिनेमा घरमा भन्दा पहिले आप्नो टेलिभिजनमा फिल्म हेर्न पाउनेछन्।

फिल्मका निर्देशक शिवम् अधिकारीले कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउनबीच सिनेमा हल सुचारु हुन ढिलाइ हुने भएकाले दर्शकको मागलाई सम्बोधन गर्दै डिसहोम च्यानलमार्फत् चलचित्र प्रदर्शन गर्न लागिएको बताए।

यसअघि ट्रेलर सार्वजनिक गरेसँगै हेटौंडामा विशेष शोमार्फत् संकलित रकमबाट निर्मला पन्तको परिवारलाई ५० हजार सहयोग गरिएको फिल्मका निर्माता मणिराज गौतमले जानकारी गराए। अब पनि फिल्म प्रदर्शनबाट संकलन हुने रकमबाट दश प्रतिशत पन्तको परिवारलाई प्रदान गरिने निर्माता गौतमले जानकारी गराए।

फिल्ममा निर्मलाको रूपमा कोपिलालाई उतारिएको छ। बलात्कारपछि पनि लामो समयसम्म राजनीतिक दबाबका बीच अपराधी पक्राउ पर्न नसक्नु तथा अनुसन्धानलाई नै फितलो बनाइएको विषयलाई फिल्मले उठाएको निर्देशक अधिकारीले बताए।

निर्देशक अधिकारीको लेखन तथा निर्देशनमा बनेको फिल्ममा सरिता गिरी, गणेश गिरी र सञ्जीवनी खरेलसँगै प्रकृति खरेल, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतीक्षा खड्का, राखी क्षेत्रीलगायतको अभिनय रहेको निर्माण समूहले जानकारी गराएको छ।

 

प्रतिक्रिया दिनुहोस्