भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार बढी, एकैदिन ४ हजार ३५३ नयाँ संक्रमित फेला



भारत ।
आइतबार भारतमा कोरोनाका ४ हजार ३ सय ५३ नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हो ।

शनिबार त्यहाँ ३ हजार १ सय १३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३ सय ४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३ सय ६४ नयाँ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय १२ पुगेको छ ।

आइतबार त्यहाँ कोरोनाका कारण १ सय ११ जनाको मृत्यु भएको छ । शनिबार १ सय १६ जनाको ज्यान गएको थियो । पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्या १ सय हाराहारी वा सोभन्दा बढी देखिँदै आएको भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका थिए ।

यसैबीच भारतमा २० हजार ९ सय ६९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणको उपायस्वरूप लकडाउन जारी राखेको छ । पछिल्लो चरणको लकडाउन मे १७ सम्म पुर्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्