कोरोना अपडेट : सार्कमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख सात हजार पुग्यो



नयाँ दिल्ली ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकहरुमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । दक्षिण एसियाका यी आठ देशमा हालसम्म कोरोना सङ्क्रमित सङ्ख्या एक लाख सात हजार ४८४ पुगेको छ भने दुई हजार ९४९ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियाली मुलुकमध्ये भारतमा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । शनिबारसम्ममा भारतमा ५९ हजार ८८१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने एक हजार ९९० जनाको मृत्यु भइसकेको छ । भारतमा १७ हजार ९५६ सङ्क्रमित व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

त्यस्तै पाकिस्तानमा २७ हजार ४७४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ भने ६१८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । पाकिस्तानमा सात हजार ७५६ व्यक्ति उपचारपछि निको भई घर फर्किएका छन् ।

अर्को बढी प्रभावित एशियाली मुलुक बङ्गलादेशमा शनिबारसम्म कोरोना भाइरसबाट १३ हजार ७७० जना सङ्क्रमित बनेका छन् भने २१४ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा दुई हजार ४१४ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

लामो समयदेखि द्वन्द्वको कारण प्रभावित अफगानिस्तानमा चार हजार ३३ जना यस भाइरसकाकारण सङ्क्रमित भेटिएको छ भने यहाँ ११५ जनाकोे विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१० का कारण मृत्यु भएको छ । अफगानिस्तानमा सङ्क्रमितमध्ये ५०२ जना निको भई घर फर्किएका छन् ।

यस्तै श्रीलंकामा ८४४ जना सङ्क्रमित रहेका छन् भने ९ जनाको मृत्यु भएको छ । माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमति हुनेहरुको सङ्ख्या ७६६ पुगेको छ भने तीन जनाको मृत्यु भएको छ । यहाँ २६० सङ्क्रमित निको भई घर फर्किएका छन् । यसैगरी नेपालमा हालसम्म १०९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यहाँ कोभिड–१९ का कारण अहिलेसम्म मृत्यु भएको छैन ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाख ४४ हजार ८० भन्दा बढी मानिसहरु सङ्क्रमति बनेका छन् भने दुई लाख ७७ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्