भारतमा रासायनिक ग्यास चुहिँदा ८ को मृत्यु, कैयौं सडकमा बेहोस



विशाखापट्टनम, (एजेन्सी)

भारतको आन्ध्र प्रदेशको विशाखापट्टनमस्थित प्लान्टमा रासायनिक ग्यास चुहावटले भयानक दुर्घटना निम्त्याएको छ ।

दुर्घटनामा अहिलेसम्म १ बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ भने ५ हजारभन्दा धेरै ग्यासको प्रभावमा परेका छन् । ग्यासको प्रभावमा परेका बिरामीलाई अस्पतालमा ल्याइरहेका छन् । कैयौं अहिले पनि सडकमा बेहोस परिरहेका छन् र कैयौंलाई आँखा पोल्ने तथा श्वास लिनमा कठिनाइ भइरहेको बताइएको छ ।

उक्त घटना विशाखापट्टनमको आरआर वेंकटपुरम गाउँस्थित एलजी पोलिमर इन्डस्ट्रीको हो । घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ र प्रभावितलाई अस्पताल पु¥याउने काम भइरहेको छ । उक्त इलाकाका स्थानीयले आँखा पोल्ने र श्वास लिन कठिनाइ भइरहेको बताइरहेका छन् । घटनास्थलमा प्रहरीसँगै अग्निसमनकर्ता र एम्बुलेन्स तैनाथ गरिएका छन् ।

समाचारमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको र त्यसमा २ वृद्ध र एक ८ वर्षकी बालिका भएको बताइएको छ । बिहीबार बिहानै भएको उक्त दुर्घटनामा ५ हजारभन्दा धेरै बिरामी भएका छन् ।

ग्यास चुहावटका कारण प्लान्टबाट ३ किलोमिटरको दायरामा बस्नेहरू प्रभावित भएका छन् । घटना भएको थाहा पाउनासाथ स्थानीय प्रहरी घटनास्थल पुगेर पीडितलाई निकाल्न शुरू गरेको थियो । अहिलेसम्म दुर्घटनाका कारण थाहा हुन सकेको छैन ।

घटनास्थल पुगेका विशाखापट्टनम जिल्लाका कलेक्टर भी विनय चन्दले दुई घन्टामा स्थिति नियन्त्रणमा ल्याउने जानकारी दिए । श्वास लिन कठिनाइ भइरहेकाहरूलाई अक्सिजन सपोर्ट दिइएको छ ।

हिन्दुस्तान पोलिमर कम्पनीको स्थापना १९६१ मा भएको हो । सन् १९९७ मा कम्पनीलाई दक्षिण कोरियाको एलजी केमिकलले टेकओवर गरेको थियो र यसलाई एलजी पोलिमर नाम दिइएको थियो । उक्त प्लान्टले प्लास्टिक बनाउँदै आइरहेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्