भारतमा ग्यास चुहावतको भयानक दुर्घटना, ८ को मृत्यु, कयौं सडकमा बेहोस



विशाखापट्टनम (एजेन्सी)

भारतको आंध्र प्रदेशको विशाखापट्टनम स्थित प्लान्टमा रसायनिक ग्यास चुहावतले भयानक दुर्घटना निम्त्याएको छ । यस दुर्घटनामा अहिलेसम्म एक बालिका सहित ८ जनाको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा धरै ग्यासको प्रभावमा परेका छन् ।

ग्यासको प्रभावमा परेका विरामीलाई अस्पतालमा ल्याइरहेका छन् । कयौं अहिलेपनि सडकमा बेहोस परिरहेका छन् र कयौंलाई आँखा पोल्ने तथा स्वास लिनमा कठिनाई भइरहेको बताइएको छ ।

उक्त घटना विशाखापट्टनमको आरआर वेंकटपुरम गाउँ स्थित एलजी पोलिमर इन्डस्ट्रीको हो । घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ र प्रभावितहरुलाई अस्पताल पुर्याउने काम भइरहेको छ ।

उक्त इलाकाका स्थानियले आँखा पोल्ने र स्वास लिन कठिनाइ भइरहेको बताइरहेका छन् । घटनास्थलमा प्रहरीसँगै अग्निसमनकर्ता र एम्बुलेन्स तैनाथ गरिएका छन् ।

समाचारमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको र त्यसमा दुई बृद्ध र एक ८ बर्षकी बालिका भएको बताइएको छ । विहिबार विहानै भएको उक्त दुर्घटनामा ५ हजार भन्दा धेरै विरामी भएका छन् ।

ग्यास चुहावतका कारण प्लान्टबाट ३ किलोमिटरको दायरामा बस्नेहरु प्रभावित भएका छन् । कयौं मानिस सडकमा बेहोस परिरहेको र कयौंमा स्वास लिनमा कठिनाइ भइरहेको पाइएको छ ।

घटना भएको थाहा पाउनासाथ स्थानिय प्रहरी घटनास्थल पुगेको र वासिन्दाहरुलाई निकाल्न शुरु गरेको थियो । अहिलेसम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन ।

घटनास्थल पुगेका विशाखापट्टनम जिलाका कलेक्टर भी विनय चन्दले दुई घन्टामा स्थिति नियन्त्रणमा ल्याउन जानकारी दिए । स्वास लिन कठिनाइ भइरहेकाहरुलाई अक्सिजन सपोर्ट दिइएको छ ।

हिन्दुस्तान पोलिमर कम्पनीको स्थापना १९६१ मा भएको हो । सन् १९९७ मा कम्पनीलाई दक्षिण कोरियाको एलजी केमिकलले टेकओवर गरको थियो र यसलाई एलजी पोलिमर नाम दिइएको थियो । उक्त प्लान्टले प्लास्टिक बनाउँदै आइरहेको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्