कोरोनाको विकास प्राकृतिक रुपमा भएको हो: फसी



जेनेभा (एजेन्सी)

विश्व स्वास्थ्य संगठनपछि अमेरिकाका प्रमुख स्वास्थ्य विशेषज्ञ एन्थनी फसीले कोरोना भाइरस कुनै प्रयोगशालाबाट नभई प्राकृतिक रुपमा विकसित भएको बताएका छन् । चीनको वुहान स्थित ल्याबबाट यो भाइरस निस्केको थियो भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दावीलाई फसीले अस्विकार गरेको छ ।

यसअघि डब्ल्युएचओले वुहानको प्रयोगशालाबाट भाइरस बाहिरिएको प्रमाणित गर्ने अमेरिकाले कुनै प्रमाण उपलब्ध नगराएको जनाएको थियो ।

विश्वभरीका अन्य कयौं वैज्ञानिकहरुले पनि यो भाइरस जनावरबाट मानवमा सरेको बताइरहेका छन् । यद्यपी चीनको वेट मार्केटबाट यो भाइरस फैलिएको तथ्यमा आशंका ब्यक्त गरिएको छ । अमेरिकाका महामारी विशेषज्ञ एन्थनी फसीले नेसनल जियोग्राफिक जर्नलमा डब्ल्युएओको बयानको समर्थन गरेका छ ।

उनले भने – यदि तपाई चमेरोमा भाइरसको विकास हेर्ने हो भने यो भाइरस बनाउन सकिँदैन भन्ने प्रमाण भेटिन्छ, यसमा हेरफेर हुन सक्दैन । समयसँगै भइरहेको चरणबद्ध विकासबाट भाइरस प्रकृतिमा विकसित भएको र अन्य प्रजातीमा आएको थाहा हुन्छ ।

तर राष्ट्रपति ट्रम्पले लगातार चीनमाथि आरोप लगाउँदै आइरहेको छ । उनले भाइरस चीनको वुहानबाट बाहिर आएको हो भन्ने तथ्यको आफुसँग प्रमाण भएको दावी गरेका छन् । साथै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले पनि आइतबार यसको बलियो प्रमाण भएको बताएका थिए ।

यद्यपी अमेरिकी इन्टेलिजेन्स डिपार्टमेन्ट यो भाइरस ल्याबबाट बाहिर आएको हो वा जनावरबाट आएको भन्ने विषयमा जाँच गरिरहेको छ । चीनले अमेरिकाको यो आरोपको लगातार खन्डन गर्दै आइरहेको छ ।

डब्ल्युएचओले गत हप्ता चीन अन्तराष्ट्रिय विज्ञ टोलीलाई आफनो ल्याबको जाँच गर्न अनुमति दिनु पर्ने बताएका थिए । यसबाट भाइरस जनावरबाट मानवमा कसरी फैलिएको हो थाहा पाउन सकिने संस्थाले जनाएको थियो ।

यस मागलाई लिएर मंगलबार संयुक्त राष्ट्रमा चीनका राजदुतले भनेका थिए, जब सम्म यो महामारीको पुर्ण रुपमा नियन्त्रण हुँदैन तबसम्म चीन आफनोमा कुनै प्रकारको जाँचको अनुमति दिने छैन ।

उनले भने – हाम्रो प्राथमिकता पहिला महामारीलाई हराउनु हो ।

प्रतिक्रिया दिनुहोस्