अमेरिकी न्यायाधीश जिन्स्बर्ग अस्पताल भर्ना



वासिङ्टन।

अमेरिकी सर्वोच्च अदालतकी न्यायमूर्ति रूथ बडर जिन्स्बर्गलाई मंगलबार पित्ताशयमा पथरी (ढुंगा) देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तर उहाँले बुधबार टेलिफोनबाट अदालतको सुनुवाईमा भाग लिनु हुने सर्वोच्च अदालतले जनाएको छ ।

८७ वर्षीया न्यायाधीश जिन्स्बर्गको बाल्टिमोरस्थित जोन्स हप्किन्स अस्पतालमा बिना शल्यक्रिया पित्ताशयको पथरीको उपचार गरिएको अस्पतालले जनाएको छ । सर्वोच्च अदालतका अनुसार हाल अस्पतालमा आराम गरिरहनु भएकी जिन्स्बर्गलाई एक वा दुई दिनपछि डिस्चार्ज गरिने छ ।

जिन्स्बर्गले सोमबार र मंगलबार टेलिफोन मार्फत अदालतको सुनुवाईमा भाग लिनु भएको थियो । उहाँको चार पटक क्यान्सर रोगको उपचार गरिएको छ । हालसालै गत अगस्टमा पेटको ट्युमरको लागि रेडिएसन गरिएको थियो । विभिन्न रोगसँग लडिरहे पनि यी उदारवादी वयोवृद्ध न्यायाधीशले सन् १९९३ देखि अर्थात विगत २७ वर्षदेखि सर्वोच्च अदालतमा निरन्तर सेवा गरिरहनु भएको छ । उहाँलाई तत्कालीन राष्ट्रपति बिल क्लिन्टनले नियुक्त गर्नु भएको थियो ।

कोरोना महामारीका कारण अमेरिकी सर्वोच्च अदालतमा पनि हाल टेलिफोन मार्फत मुद्दाहरुको सुनुवाई हुने गरेको छ । जिन्स्बर्गले आफूलाई स्वास्थ्य अवस्थाले साथ दिएमा ९० वर्षको उमेरसम्म सर्वोच्च अदालतमा सेवा गर्ने बताउनुभएको छ । संयुक्तराज्य अमेरिकामा सर्वोच्च अदालतमा आजीवन न्यायाधीश हुन सक्ने संवैधानिक प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्