बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार



ढाका। 

प्रहरीले बंगलादेशको राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ । ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दीन बंगलादेशमा आबद्ध रहेको बताइएको छ । यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करिब २ हजार ६५९ अमेरिकी डलर बरामद गरेको छ । ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूह विरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्