कोरोनाका कारण गर्भनिरोध उपायबाट वञ्चित हुँदै महिला



लन्डन, (एजेन्सी)
कोरोना भाइरस संक्रमणको महामारीले विश्वको ठूलो आवादी घरमै कैद हुन बाध्य भइरहेको छ । अधिकांश विश्वमा लकडाउनसँगै घरघरमा पारिवारिक कलह बढिरहेको समाचार पनि आइरहेको छ ।

यूएन पपुलेसन फन्ट (यूएनपीएफ) का अनुसार विश्वभरि लकडाउनका कारण घरेलु हिंसामा २० प्रतिशत वृद्धि भएको छ । प्रतिबन्ध रहेसम्म यो वर्ष विश्वभरि घरेलु हिंसाका १ करोड ५० लाख मामिला आउन सक्ने अनुमान गरिएको छ । यो नयाँ आँकडाले आगामी दशकमा महिलाको राम्रो जीवनस्तरको अपेक्षालाई धमिलो पार्दै लगेको छ ।
यूएनपीएएफका अनुसार गत तीन महिनामा विश्वभरिमा ४ करोड ४० लाख महिला प्रतिबन्धका कारण गर्भ निरोध उपायको प्रयोग गर्नबाट वञ्चित भइरहेका छन् । यी महिला १ सय १४ निम्न तथा मध्यम आय भएका देशहरुमा रहेका छन् । यसले गर्दा करिब १० लाख महिला अनिच्छुक गर्भधारणका लागि बाध्य हुनेछन् ।

अर्को कहालीलाग्दो अनुमान भनेको प्रतिबन्धका कारण १० देखि ५३ लाख युवतीको उमेर नपुग्दै विवाह हुन सक्ने शोधकर्ताले बताएका छन् । १ करोड ३० लाखको बालविवाह हुन सक्छ । यसले बालविवाह बिरुद्ध भइरहेका सम्पूर्ण कार्यक्रम निष्फल हुनेछ ।

इन्टरनेसनल प्लान्ड पेरेन्ट हुड फेडेरेसनका अनुसार कोरोना संक्रमणपछि ६४ देशमा ५ हजारभन्दा बढी क्लिनिक बन्द भएका छन् । प्रतिबन्धका कारण ३० लाख अनिच्छुक गर्भ हुन सक्ने मेरी स्टप्स इन्टरनेसनलले अनुमान गरेको छ । करिब २७ लाख असुरक्षित गर्भपात हुन सक्छ । ११ हजारभन्दा धेरैको गर्भावस्थासँग सम्बन्धित मृत्यु हुन सक्छ ।

यूएनपीएफकी कार्यकारी निर्देशक नातालिया कानेमका अनुसार यो आँकलन विश्वभरिबाट प्राप्त आँकडामा आधारित हो । हरेक देशका प्रशासनले कोभिड–१९ र लकडाउनका कारण घरेलु हिंसामा वृद्धि भइरहेको बताएका छन् ।

यी आँकडा यूएनपीएफ र त्यसको साझेदार पार्टनर एवेनिर हेल्थ, जोन्स हपकिन्स युनिभर्सिटी, विक्टोरिया युनिभर्सिटीले विश्लेषण गरेको हो । यसबाट विगत ३ महिनामा संयुक्त राष्ट्रसंघका १ सय ९३ सदस्य देशमा घरेलु हिंसाका घटनामा २० प्रतिशत वृद्धि देखाएको छ ।

यदि विश्वभरि लकडाउन बढाइएमा हरेक तीन महिनामा घरेलु हिंसाका १ करोड ५० लाख अतिरिक्त घटनाहरु आउन सक्ने शोधकर्ताले अनुमान लगाएका छन् । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्ममा यस प्रकारका घटनामा दुई तिहाइ कमी ल्याउने लक्ष्य राखेको छ ।

 

प्रतिक्रिया दिनुहोस्