विपन्नलाई खाना खुवाउँदै मैनाली



कोरोनाबाट जोगिनका लागि लगाइएको लकडाउनका कारण न्यून आय स्रोत भएकाहरूलाई हात मुख जोर्नसमेत धौ–धौ परेको छ। यस्तो परिस्थितिमा उनीहरूका लागि धेरैले सहयोगको हात अगाडि बढाएका छन्। यसै पंक्तिमा देखिएका छन् फिल्म व्यवसायी सुमित मैनाली।

उनले केही दिनयता विपन्नवर्गका लागि निजी खर्चमा निःशुल्क खाना खुवाउने अभियान चलाएका छन्। मैनालीले राजधानीको वसुन्धरतास्थित मेघा पार्टी प्यालेसमा हरेक दिन ४ सय जनाका लागि निःशुल्क भोजन खुवाइरहेका छन्।

उनले दिउँसो ४ः३० बजेदेखि ६ः३० बजेसम्म मेघा पार्टी निःशुल्क खाना खुवाउन प्रबन्ध मिलाएका हुन्। उनका अनुसार यसका लागि दैनिक करिब ६५ हजार खर्च हुने गरेको छ। भोजनका समस्या भए सम्पर्क गर्न उनले सामाजिक सञ्जालमार्फत आह्वानै गरेका छन्।

एक साताको अनुभवमा खाना खान आउने सबै विपन्नवर्गका मात्र नभएको पाएपछि उनले यो अभियानलाई फरक ढंगले अगाडि बढाउने थालेका छन्। उनले हाल स्थानिय जनप्रतिनिधिसँग समन्वय गरी खाना खुवाइरहेका छन्। चामलका बोरा दिनुभन्दा खाना दिए पकाउने समस्या नहुने भएकाले यस्तो अभियान शुरू गरिएको मैनालीले बताए।

मैनाली राजधानीको दरबारमार्गस्थित राइजिङ मलको क्युज सिनेमा, लुक्स युनिसेक्स सलुन र ओएसिस क्याफेका सञ्चालक हुन्।

 

प्रतिक्रिया दिनुहोस्