दक्षिण चीन सागरबाट अमेरिकी सैन्य बेडा लेखेटिए



एजेन्सी, बेइजिङ ।

विश्व कोरोना भाइरस महामारीको महासंकटमा छटपटिरहेको अवस्थामा पनि चीन र अमेरिकाबीच सैन्य तनाव लगातार बढिरहेको छ । यो व्यवहार समस्या समाधानका लागि भन्दा पनि राजनीतिबाट प्रेरित भएको देखिन्छ ।

चीनले दाबी गरेको दक्षिण चीन सागरमा अमेरिकी एक सैनिक जहाजलाई खेदेर भगाएको चिनियाँ नौ सेनाले दाबी गरेको छ । तर अमेरिकाले चीनको यो दाबीको खण्डन गरेको छ । यसैबीच अमेरिकाले पनि आफ्ना बमवर्षक विमानहरु पनि दक्षिण चीन सागरको गस्तीमा पठाएको छ ।

चीनको पिपुल्स लिबरेसन आर्मीको साउदर्न थिएटर कमान्डका प्रवक्ता वरिष्ठ कर्नेल ली हुआमिनले अमेरिकाको गाइडेड क्षेप्यास्त्र विध्वंसक यूएसएस बेरीलाई धपाउन चीनले हवाई र समुद्री बलको मोर्चा लगाएको र त्यसलाई आफ्नो सीमाबाट बाहिर धपाएको जानकारी दिए ।

उक्त अमेरिकी सैन्य बेडा दक्षिण चीन सागरमा चीनको समुद्री क्षेत्रमा विचरण गरिरहेको उनले दाबी गरे । तर अमेरिकी नौ सेनाले उनको उक्त दाबीको खण्डन गरेको छ ।

अमेरिकाको यो उत्तेजना फैलाउने व्यवहारले अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको र चीनको सम्प्रभुता र सुरक्षा हितको गम्भिर उल्लंघन गरेको हुआमिनले बताए ।

यसले चीनको सुरक्षामा खतरा बढेको छ जसले अप्रत्यासित परिणाम हुन सक्ने र यसले कोरोना बिरुद्धको विश्वव्यापी लडाइँ पनि कमजोर हुनेछ ।

अमेरिकी नौ सेनाले उक्त दावीको खण्डन गरेको छ । नौ सेनाका अनुसार टकरावको कुनै स्थिति नभएको र चीनको कुनै पनि जहाजले कुनै प्रकारको अवांछित गतिविधि देखाएको जस्तो कुनै सूचना प्राप्त भएको छैन ।

चीनले दक्षिण चीन सागर र त्यसको वरपरका समुद्री इलाकामाथि आफ्नो सम्प्रभुता दाबी गर्दै आइरहेको छ । चीनले यस इलाकामा लगातार आफ्नो सैन्य स्थिति बलियो बनाइरहेको छ ।

चीनले फिलिपिन्सको मुगाले बनेका दीपहरुमा कंक्रिट संरचना निर्माण गरिरहेको छ । त्यसलाई रिसर्च सेन्टरमा परिणत गर्ने भने पनि वास्तवमा चीन त्यहाँ हतियारका लागि प्रक्षेपण प्लेटफर्म बनाइरहेको र त्यहाँ लडाकू विमान र क्षेप्यास्त्र तैनाथ गर्ने तयारी गरिरहेको अमेरिकाले आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्