होटल क्षेत्रमा मासिक पौने २ अर्ब घाटा, पर्यटन क्षेत्रलाई २० अर्बको प्याकेज आवश्यक



नेपाल समाचारपत्र, काठमाडौं

कोभिड–१९ को महामारीका कारण नेपालको होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड रुपियाँ घाटा भइरहेको होटल संघ नेपालका अध्यक्ष सिर्जना राणाले बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा सम्पन्न भर्चुअल बैठकमा उहाँले कोरोनाका कारण होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड घाटा भइरहेको बताउनुभएको हो ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो–‘कोरोना महामारीका कारण सबै क्षेत्रमा असर परिरहेको छ, त्यसमध्ये सबैभन्दा बढी प्रभावितमध्येको एक होटल क्षेत्रमा मासिक १ अर्ब ८० करोड घाटा भइरहेको छ ।’

होटल क्षेत्रमा भएको घाटालगायतको सम्पूर्ण विवरण पर्यटन बोर्डलगायत सम्बन्धित सबै क्षेत्रमा लिखित रुपमा उपलब्ध गराएको भन्दै उहाँले सरकारले विशेष राहत ल्याउनुपर्ने बताउनुभयो ।

‘हामी सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारीमा थियांै, यसका लागि ठूलो लगानी पनि भएको थियो तर अहिले कोरोनाको कारणले आम्दानी ठप्प भएको छ,’ उहाँले भन्नुभयो ।

सरकारले विशेष राहत प्याकेज ल्याउँदै होटल क्षेत्रमा काम गर्ने कर्मचारीहरूलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘अहिले ठूला होटलमा लगानी भएको उल्लेख गर्दै किस्ता तिर्नसमेत नसकेको र पुरानो होटलमा कर्मचारीलाई तलब दिन नै गाह्रो भएको छ ।’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार होटल क्षेत्रमा ६ महिनाको सर्भिस शुल्क मौज्दात रहेकाले त्यसैबाट कर्मचारीलाई तलब दिन सकिने बताउनुभयो । ‘अहिले हामीसँग ६ महिनाको सर्भिस शुल्क बाँकी छ, त्यो भनेको मासिक झण्डै ८ हजार रुपियाँ र तलबमा १२ दशमलव ५० प्रतिशत दिन सक्छौं भन्ने आधारमा सरकारले तोकेको बेसिक तलब दिन सक्छौं, त्यसबाहेक सक्दैनौं, तर मजदुरहरूले शतप्रतिशत चाहिन्छ भन्नुभएको छ । उहाँहरूले पनि यो समयमा कुरा बुझ्नुपर्छ ।’उहाँले भन्नुभयो ।

त्यस्तै ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन मन्त्रालयले स्पष्ट तथ्यांक राख्न नसक्नु ठूलो कमजोरी भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘संकटको बेला समाधान गर्नेभन्दा सरकार तथ्यांक खोज्नमा लाग्यो । राहत घोषणा तत्काल गर्नुपर्छ ।’

बसन्त ऋतुमा ट्रेकिङ बन्द हुँदा १५ अर्ब बढी क्षति पुगेको टानको अनुमान रहेको छ । कोरोनाको असरले पर्यटन क्षेत्र सन् २०२० ऋणात्मक रहने, २०२१ खर्च धान्न सक्ने र २०२२ पछि मात्रै पर्यटन क्षेत्र नाफामा जाने टानका अध्यक्ष सुवेदीको आंकलन छ ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मीले कोभिड १९ को असरबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका लागि २० अर्बको प्याकेज आवश्यक रहेको बताउनुभयो । उहाँले कोरोनाले क्षतिग्रस्त बनाएको पर्यटन क्षेत्र उकास्नका लागि सरकारले २० अर्बको प्याकेज ल्याउनुपर्ने बताउनुभयो ।

त्यसबाहेक पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीका लागि १ वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र ३ वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनु पर्ने उहाँले बताउनुभयो ।

उहाँले सरकारले यो क्षेत्रका लागि एकमुष्ठ प्याकेज ल्याउनुपर्ने बताउँदै बजेटबाट सबै कुरामा सम्बोधन हुनेमा आफू आशावादी भएको समेत बताउनुभयो ।
‘बोर्डले लकडाउन खुले लगत्तै यस क्षेत्रका बेरोजगार १८ सय कामदारलाई रोजगारी दिने तयारी गरेको छ ।’ उहाँले भन्नुभयो । उहाँका अनुसार १८ सय कामदारमध्ये १ हजार जनालाई युएनडीपीले र ८ सय जनालाई बोर्डले रोजगारी दिनेछ ।

त्यसबाहेक अब आन्तरिक पर्यटन बढाउनुपर्ने अवस्था आएकाले सरकारले कर्मचारीलाई समेत तलबी बिदा दिनुपर्ने बताउनुभयो । साथै नेपालबाट विदेश जाने पर्यटकलाई समेत अब आन्तरिक पर्यटनमा आकर्षित गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले अहिलेसम्म पर्यटन क्षेत्रको विस्तृत तथ्यांक नभएकाले आगामी दिनमा विस्तृत तथ्यांक संकलन गर्ने समेत जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा करिब १६ देखि २० लाख मानिसहरू प्रभावित भएका छन् । ‘५ लाख मानिस प्रत्यक्ष जोडिएका थिए भने अप्रत्यक्ष रुपमा गरी १६ देखि २० लाख मानिसहरु पर्यटन क्षेत्रसँग जोडिएका छन् ।’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्