लकडाउनको मारमा परेकालाई सहयोग गर्दै खेलकुद अध्यक्ष श्रीभक्त



पुष्कर बुढाथोकी, भक्तपुर ।

लकडाउनमा अधिकाँश घरभित्रै बसेका छन् । तर, खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष श्रीभक्त कासिछ्वाको दैनिकी फरक छ । भक्तपुर घलांतेस्थित यो यो व्याङ्क्वेटका सञ्चालक, तथा समाजसेवी कासिछ्वा बिहान उठेदेखिनै कहाँ अलपत्र मजदुर भोकै छन्, कसरी उनीहरुलाई गन्तव्य सम्म पुर्‍याउँने भन्ने ध्याउन्नमा हुन्छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमको बाछिटा नेपालमा पनि देखिन थालेपछि सरकारले ५ साताादेखि मुलुकभर लकडाउन गरेको छ । लडडाउँनसंगै दैनिक मजदुरी गरेर खाने मजदुर लगायतका निम्न आय भएकाहरुको आर्थिक अभावका कारण चुलो बल्न छाडेपछि खेलकुद अध्यक्ष श्रीभक्तले बिभिन्न संघ संस्था तथा व्यवसायीसंगको सहकार्यमा काठमाडौंमा बस्न नसकेर घर जाने क्रममा अलपत्र परेका मजदुरलाई दैनिक खाना खुवाउँने, यातायातका साधन व्यवस्था गरेर सम्बन्धित स्थानमा पठाउँन सहयोग पुर्‍याउँने लगायतका काममा अहोरात्र खटिदै आएका छन् ।

यसबीच उनले काभ्रेको पाँचखालमा करिव दुई सय मजदुर अलपत्र परेको सूचना आएसंगै त्यहाँ पुगेर उद्धार गर्न सकृय भए । भक्तपुरको जगातीस्थित महानगरीय प्रहरी बृत्तका लागि रिफ्लेक्टर ज्याकेट लगायतका सुरक्षा सामाग्री हस्तान्तरण गरे । सो क्रममा प्रदेश सभा सांसद प्रतिमा श्रेष्ठ र कासिछिवाले जगाती बृत्तका डिएसपी चक्रराज जोशीलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।

मुलुकभित्र कोरोनाको जोखिम बढेको भन्दै काठमाडौंसंगको सीमा जडिबुटीमा निर्वाध रुपमा जो कोहिलाई भक्तपुरतर्फ आवागमन गर्न नदिने उदेश्यले सीमामा डोरी टाँग्न समेत पुगेका थिए, कासिछ्वा । गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलका सञ्चालक समेत रहेका कासिछ्वा भक्तपुरका अलपत्र परेका नवलपरासीका मजदुरलाई कसरी घर फर्काउन सकिन्छ भन्ने व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय पुगे । जिल्ला प्रशासनबाट सवारी पास ल्याएपछि सवारी साधनको प्रबन्धमा जुटेका थिए, कासिछ्वा । जिल्लामा अलपत्र मजदुरलाई दुई दर्जनबढी बसको व्यवस्था गरी पठाउँन अहम भूमिका खेलेका कासिछ्वा लगायतका राजनीतिक दलका नेता, व्यवासयीले सवारी साधन व्यवस्थापन गरेर दर्जनौ सवारीमा गन्तव्यतर्फ पठाएका थिए ।

कोरोना संक्रमण फैलिन नदिनकालागि गत चैत्र ११ गतेदेखि सरकारले लगाएको लकडाउनले ज्यालामजदुरी गर्नेहरु समस्यामा परेको, कतिपय मजदुरहरु भोकै तिर्खै सात आठ दिनसम्म हिडेरै घर गइरहेका समाचारहरु प्रकाशित भएपछि खेलकुद विकास समितिका अध्यक्ष कासिछ्वा त्यसरी अलपत्र परेकाको उद्धारमा रातोदिन खटिंन थालेको बताउँछन् ।

त्यसै क्रममा उनले काठमाडौंमा वेरोजगार भई अलपत्र परेपछि हिडेरै घर जान लागेका मजदुर तथा यात्रुहरुलाई गठ्ठाघरमा खाना खुवाइ रहेका छन् । स्थानीय बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका सञ्चालक, वसन्त लामा, सुनिल बज्राचार्य र मानवीय आस्था नेपालको समन्वयमा निःशुल्क खाना खुवाउने व्यबस्था अघि बढाइएको कासिछ्वा बताउँछन् ।

उनीहरुले खाने खुवाउँने स्थानमा भक्तपुरको इट्टा भट्टामा काम गर्ने मजदुरका अलवा सिन्धुली, खोटाङ, उदयपुर, दाङ, सल्यान, रोल्पा हिंडेका यात्रु, वृद्धवृद्धा, गर्भवती महिला, बालबच्चा लगायतकाले खाना खान पाए । अलपत्र यात्रुले खाना खाने क्रममा यातायातको व्यवस्था गर्न अनुरोध गरेपछि उद्धार गरी पठाउँने काममा लागेको कासिछ्वा बताउँछन् । लकडाउँन अवधिभर अलपत्र यात्रु, मजदुर र खान नपाउँनेका लागि सो कार्य जारी रहने कासिछ्वाले बताए । कासिछ्वाका अनुसार गठ्ठाघरमा उनीहरुका अलवा अस्पतालका विरामी कुरुवादेखि भोकै बसेका यहाँ आउने जोसुकैलाई निःशुल्क खाना खुवाइने गरिएको छ ।

कासिछ्वाका अनुसार, भक्तपुरमा कोही पनि भोकै नपरुन भन्ने उदेश्यले प्रतिनिधीसभाका सांसद महेश बस्नेतको समन्वय र बिभिन्न निकायको सहयोगमा निःशुल्क खाना खुवाउने अभियान सुरु भएको हो । अभियान अन्तर्गत जुनसुकै ठाउँबाट भोकै आउने व्यक्तिलाई भात, दाल, तरकारी र अचार खुवाउने गरिएको छ । सो अभियान शुरु भएसंगै नजिकै रहेका नागरिक अस्पताल, नेपाल कोरिया नगरपालिका मैत्री अस्पताल, मध्यपुर अस्पताल लगायतमा रहेका विरामी कुरुवालाई पनि खाना खान सहज भएको छ ।

खेलकुद विकास समितिका अध्यक्ष कासिछ्वाले यसअघि बिभिन्न प्रहरी कार्यालयलाई डिउटीका क्रममा आवश्यक सामाग्रीका अलवा जिल्लाका सञ्चारकर्मीहरुलाई समेत प्रेस ज्याकेट, एन नाइन्टी फाइव माक्स, स्यानिटाइजर लगायतका सामाग्री प्रदान गरेर सहयोग पु र्‍याएका थिए ।उनको यो अभियानमा मध्यपुर थिमि नगरपालिका र सुर्यबिनायक नगरपालिकाको राम्रै साथ पाए ।
अलपत्र मजदुर उद्धारमा २० लाख सहयोग

यसैबीच नेकपा नेता एवं जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्माले राजधानी काठमाडौं उपत्यकामा अलपत्र परेका दोलखाका हजारौ मजदुर उद्धारमा रु २० लाख बढी सहयोग गरेका छन् । मंगलवार ५५ वटा बस रिजर्वगरी उद्धार गरिएका ती मजदुरहरु लगेको बस भाडा २२ लाख रुपियामध्ये शर्माले २०लाख ६० हजार रुपिया व्यक्तिगत रकम सहयोग गरेका हुन् ।

शर्माका अनुसार, जिल्लाका मेलुङ गाउँपालिका फर्किने स्थानीयवासीलाई वैशाख ८ र ९ गते ५५ वटा यात्रु बसमा करिव दुई हजार पाँच सयलाई घर फर्काइएको थियो । गाउँले सेवकका नाताले आफुले सो सहयोग गरेको शर्माले बताए ।यसको संयोजक भने दोलखाका नेकपाका नेता शंकर लामाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्