हिरासतमा लकडाउनको प्रभाव : एक तिहाइ कैदीबन्दी



न्युज अफ नेपाल, हेटौंडा ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमा सम्भवतः पहिलो पटक एक तिहाइमात्र कैदीबन्दी छन् । लामो लकडाउनका कारण इतिहासमै पहिलो पटक यस्तो देखिएको प्रहरीको भनाइ छ । प्रहरी हिरासतमा क्षमताको एक तिहाइ भन्दा कम थुनुवा भएको सम्भवतः हेटौंडामा यो पहिलो हो ।

कोरोना संक्रमणको जोखिम रोक्न सरकारले जारी राखेको लकडाउनको अवधि एक महिना नाघिसकेको छ । लकडाउनकै कारण बजार, चोक सुनसान छन् । सर्वसाधारण लकडाउनको पालना गरेर घरमै बसिरहेका छन् । घटना, दुर्घटना र अन्य आपराधिक गतिविधिका कारण भीडभाड रहने हेटौंडामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर हाल सुनसानप्रायः बनेको छ ।

विभिन्न मुद्धाका विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा थुनुवा खचाखच हुने गरेका थिए । करिब ९० भन्दा बढी थुनुवा रहने गरेको प्रहरी हिरासतमा लकडाउन शुरु भएयता ३० जना थुनुवा नाघेका छैनन् । जिप्रकामा ५ वटा थुनुवाकक्ष छन् । जसमध्ये एउटा महिलाका लागि छुट्याइएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले बताउनुभयो ।

‘लकडाउन शुरु हुनुभन्दा अघि ९० जना भन्दा बढी थुनुवा थिए । हाल २६ जनाको हाराहारीमा मात्र थुनुवा छन् । यो संख्या घट्ने क्रममा छ,’ उहाँले अदालतको आदेशअनुसार कतिपय थुनुवालाई भीमफेदी कारागार चलान गरिएको र केहीलाई अदालत वा जिल्ला प्रशासन कार्यालयको आदेशमा धरौटीमा रिहा गरिएको छ ।

केही थुनुवा कारागार चलान हुने तयारीमा छन् । यसले प्रहरीको हिरासतकक्षमा अभियुक्तहरु अझ कम हुने अबस्था देखिएको प्रनि पाठकले बताउनुभयो ।

कारागारले कैदीको कोरोना सुरक्षामा विशेष सावधानी अपनाएको प्रनि पाठकले जानकारी दिनुभयो । लकडाउनपछि फैसला भएर कारागार चलान भएकाहरुलाई कारागारभित्र छुट्टै क्वारेन्टाइनमा राखेर र्‍या पिड टेष्ट गर्ने गरिएको प्रनि पाठकको भनाइ छ ।

‘कैदीबन्दीहरुको स्वास्थ्य सुरक्षामा हामी विशेष सजग छौं,’ उहाँले कारागारमा स्यानेटाइजर, साबुन र मास्कको व्यबस्था मिलाइएको जानकारी दिनुभयो । लकडाउन शुरु भएयता मकवानपुरमा घटना, दुर्घटना र अपराधका घटनामा कमी आएको प्रहरी भनाइ छ ।
लकडाउनको केही दिनअघिसम्म लागुऔषधका अभियुक्तहरु पक्राउ गरेका प्रहरीहरु हिजोआज कोरोनाबारे सचेतना फैलाउन टोलटोलमा व्यस्त देखिन्छन् ।

केही दिन अघिसम्म मकवानपुर प्रहरी लागुऔषध ओसारपसारविरुद्ध कडारुपमा उत्रिएको थियो । यही क्रममा प्रत्येक दिनजसो अभियुक्तहरु पक्राउ पर्ने गरेका थिए । हिजोआज गाडी नचल्दा अभियुक्तहरु पक्राउ गर्नुपर्ने अबस्था छैन ।

हेटांैडा–१५, रातोमाटे चेकपोष्टमा खटिएको प्रहरी टोलीले बस, साना गाडी, मोटरसाइकल आदिबाट गाँजा, चरेश वा अन्य लागुऔषध बरामद बरामद गर्ने गरेको छ । मकवानपुरमा आर्थिक वर्षमा २०७४/०७५ मा अवैध लागुऔषध ओसारपसारमा संलग्न २ सय ४० जना पक्राउ परेका थिए । उनीहरुमध्ये २ सय १४ पुरुष, ११ महिला, १२ भारतीय पुरुष र ३ भारतीय महिला थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न अपराधमा आर्थिक वर्ष २०७४/०७५ मा १ हजार १ सय १८ जनालाई पक्राउ गरेको थियो । जसमध्ये १ हजार ४० पुरुष, ५६ महिला, १९ विदेशी पुरुष र ३ विदेशी महिला थिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांकअनुसार गएका वर्षयता बढी लागुऔषध ओसारपसार गर्ने मानिस पक्राउ परेका थिए । प्रहरीले गाँजा, चरेश, खैरो हेरोइन, अफिम, नाइट्रोभेट, डाइजेपाम, ब्युप्रोनोर्पिmन, फेनारगन, नोर्फिन र कोेरेक्स बरामद गर्दै आएको छ ।
लागुऔषधको मुख्य ‘ट्रान्जिट प्वाइन्ट’ मानिने मकवानपुरका युवा लागुऔषध ओसारपसार मुद्धामा देशका विभिन्न क्षेत्रका कारागारमा जेलजीवन बिताइरहेका छन् । आर्थिक बिपन्नता र रोजगारीका कारण बाध्य भएर लागुऔषध बोक्ने भरिया बन्दा जिल्लाका पश्चिमोत्तर १२ गाविसका ३ सय ५० भन्दाबढी युवा जेलजीवन बिताउन बाध्य भएका हुन् । युवाशक्ति विदेश पलायन हुनु सामान्य बन्दै गएको अबस्थामा युवाले जेलजीवन बिताइहँदा गाउँको विकास ओझेलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्