लकडाउनमा बोर्ड अध्यक्षका लागि आवेदन खुला, निश्चित उम्मेदवार लक्षित गरेर घटाइयो शैक्षिक योग्यता



अभिनेता केशव भट्टराईको असामयिक निधनपश्चात् लामो समयदेखि रिक्त रहँदै आएको चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले आवेदन खुला गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी दैनिक गोरखापत्रमा सूचना जारी गर्दै बोर्डको रिक्त अध्यक्ष पदका लागि लकडाउनको असहज परिस्थितिमा निवेदन खुला गरेको हो। ६ महिनाअघि देखि रिक्त बोर्ड अध्यक्षमा लकडाउनका समयमा, त्यो पनि शैक्षिक योग्यता घटाई निवेदन माग भएपछि फिल्मकर्मीहरूले मन्त्रालयको नियतमा शंका गरेका छन्।

यसअघि बोर्ड अध्यक्षका लागि न्यूूनतम शैक्षिक योग्यता स्नातक तोकिएकोमा यसपटक प्रवीणता प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता तोकिएको छ। शैक्षिक योग्यतासमेत घटाएर आवेदन मागिएपछि धेरैले यो केवल नौटंकी भएको र उम्मेदवार पहिले नै तोकिइसकेको प्रीतक्रियासहित यसलाई नौटंकीको संज्ञा दिएका छन्। शैक्षिक योग्यता घटाएर आवेदन मागिनुको अर्थ यो आवेदन निश्चित व्यक्तिका लागि भएको निचोड फिल्मकर्मीहरूको रहेको छ।

यो असहज परिस्थितिमा शैक्षिक योग्यता नै घटाएर निवेशन मागिएपछि सामाजिक सञ्जालमा यसको व्यापक आलोचना भएको छ।
मन्त्रालयको सूचनामा अध्यक्षको उम्मेदवार नेपाली चलचित्र उद्योगको स्थापन, विकास, संरक्षण, सम्वर्धन तथा प्रवर्धनमा निरन्तररूपमा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्ने प्रावधान थापिएको छ। यो प्रावधान पनि कोही निश्चित व्यक्तिलाई लक्षित गरेर ल्याइएको आशंका गरिएको छ।

अध्यक्षका उम्मेदवारको मूूल्यांकन व्यावसायिक कार्ययोजना, कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा गरिने सूचनामा जनाइएको छ। गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएदेखि सो पद रिक्त रहँदै आएको छ। सामाजिक सञ्जालमा भने हाल बोर्डका सदस्यसमेत रहेका दयाराम दाहाललाई अध्यक्ष पदको बलियो उमेदवारका रूपमा चर्चा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्