बजारको अभावमा टमाटर किसानको खेतमै कुहियो



सरोज यादव,मोरङ ।

उत्पादित टमाटर बजारसम्म पु¥याउन नसक्दा किसानको खेतमै कुहिएको छ । टमाटर कुहिएका कारण ऋण काढेर खेतीमा लगानी गरेका मोरङका किसानले लाखौंको क्षति बेहोर्नुपरेको छ । मोरङको कटहरी गाउँपालिकाका किसानको खेतमा यतिखेर टमाटर फलेर लटरम्म छ तर उनीहरु खुसी छैनन् । फलेका टमाटर समयमा बजारसम्म पु¥याउन नसक्दा उनीहरु दुःखी र चिन्तित छन् ।

टमाटर टिप्नुपर्ने समय बित्दै जाँदा फलेका टमाटरहरु कुहिएर खेतमै झर्न थालेका छन् । कटहरी–४ का केशनाथ सिंहले गरिबी निवारण बैंक, जीवन विकासलगायत विभिन्न बित्तीय संस्था तथा बैंकबाट झण्डै ४ लाख ऋण काढेर टमाटर खेतीमा लगानी गर्नुभएको थियो । उहाँले गरेको लगानी र मेहनेतअनुसार टमाटर फले पनि प्रतिफल भने लिन पाउनुभएन ।

लकडाउनका कारण बजारसम्म टमाटर पु¥याउन नसक्दा उहाँले १५ कठ्ठा क्षेत्रफलमा लगाएका टमाटर यतिखेर कुहिएर खेतमै झर्न थालेको छ । अब बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ताले उहाँ ग्रसित हुनुहुन्छ । सोही ठाउँका अर्का किसान रामबहादुर सिंहले २७ कठ्ठा क्षेत्रफलमा साढे ३ लाख लगानी गरेर विभिन्न सब्जीसहित टमाटर खेती गर्नुभएको छ । झण्डै १५ कठ्ठामा लगाइएको उहाँको टमाटरसमेत कुहिएर खेतमै झर्न थालेको छ । भएको पुँजी जम्मै सब्जी खेतीमा लगानी गरेको बताउनुहुँदै उहाँले अब अर्को सिजनका लागि लगानी गर्न समस्या भएको बताउनुभयो ।

उक्त क्षेत्रका अन्य दर्जनौं किसानले समेत लगाएका टमाटर खेतमै कुहिएको छ । बोटले थेग्न नसक्ने गरी टमाटर फले पनि उनीहरुले त्यसबाट लाभ लिन पाएका छैनन् । उत्पादित सब्जी खेतमै कुहिएका किसानका लागि सरकारले यथोचित राहतको व्यवस्था गर्नुपर्ने कटहरी–४ का वडाध्यक्ष मन्टु शेखको भनाइ छ । आँखै सामुन्ने लगानी र मेहनेत दुवै खेर गइरहँदा यतिखेर किसानहरु रुनु नहाँस्नु भएको छ । यसक्षेत्रका किसानले उत्पादित सागसब्जी बिराटनगरसहित आसपासका बजारमा विक्री गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्