सिमा क्षेत्र र काठमाडौंबाट आएकालाई क्वारेन्टाइनमा राखियो



मिला दरै, तनहुँ।

भारतीय सिमा क्षेत्र र काठमाडौंबाट जिल्ला भित्रिएकालाई क्वारेन्टाइनमा राखिएको छ । कोहलपुर, नेपालगञ्ज, बिरगञ्ज र काठमाडौँ लगायतका ठाउँबाट आएका भानुवासीलाई क्वारेन्टाइनमा राखिएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

जनस्वास्थ्य अधिकृत भट्टराईका अनुसार सिमा क्षेत्र र काठमाडौँबाट आउनुभएका ११ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भानु नगरपालिका–४ खातीथोक स्थित शान्ति निम्नमाध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा उहाँहरुलाई खाने र बस्ने व्यवस्थापन समेत गरिएको भट्टराईले बताउनुभयो । पाँच जना महिला र छ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो ।

कोहलपुरबाट ४, काठमाडौंबात ६ र बिरगञ्जबाट एक जना गरी ११ जना भानुमा भित्रिएका छन् । कोभिड १९ को संक्रमण फैलन सक्ने सम्भावनालाई नियन्त्रण तथा रोकथामका लागि ‘उहाँहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिनेछ र नगरपालिका, वडाको निगरानीमा राखिनुका साथै समय समयमा उहाँहरुको स्वास्थ्य परीक्षण समेत गरिनेछ,’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्